दोदा नदीमा तटबन्ध निर्माण सुरु

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ मा रहेको दोदा नदीमा तटबन्ध निर्माण सुरु गरिएको छ । कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण सुरु गरिएको हो । चुरे भएर दक्षिण बग्ने दोदा नदीले हरेक वर्षात्का बेला लालझाडी गाउँपालिकामा बढी क्षति पुर्याउँदै आएको छ ।
आउँदो वर्षात् आउन करिब एक महिना अगावै दोदा नदीको उच्च कटानी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको हो । दोदा नदीले सबैभन्दा बढी लालझाडी, बेलौरी र पुनर्वासका केही वडामा विपद् जोखिम निम्त्याएपछि सरकारी निकायले समेत उच्च प्राथमिकताका साथ तटबन्ध निर्माणको योजनालाई अघि सारेको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा दोदा नदीमा ८ सय ५० मिटर लम्बाइ र ५ मिटर जति उचाइको तटबन्ध निर्माण गर्न लागेको छ ।
जनताको तटबन्ध कार्यक्रमका फिल्ड कार्यालय कञ्चनपुरका इन्जिनियर करुणाकर पन्तले लालझाडी गाउँपालिका–१ को नौरंगा र विचवाको कटानी उच्च प्रभावित क्षेत्रमा तटबन्ध निर्माण कार्य सुरु गरिएको बताए । इन्जिनियर पन्तका अनुसार निर्माण कार्यले पुनर्वास नगरपालिकाको सिमारी गाउँ डुवान र हुलाकी सडकलाई दोदा नदीको प्रकोप नियन्त्रणमा मद्दत पुग्ने छ । इन्जिनियर पन्तले अमृत कन्स्ट्रक्सनले ८ सय ५० मिटर तटबन्ध निर्माणको जिम्मा पाएको बताए ।
तटबन्ध निर्माणका लागि ५ करोड २४ लाख रुपैयाँका लागतमा निर्माण कार्य सम्पन्न गर्न एक वर्षको समय सीमा दिइएको छ् । त्यसैगरी अमृत कन्स्ट्रक्सनका सञ्चालक पदमराज बोहराले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सम्झौताअनुसार काम गर्ने बताएका छन् । लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले लालझाडी क्षेत्रमा पर्ने दोदा नदी नियन्त्रणका लागि संघीय, प्रदेश सरकारसँग पालिका स्तरबाट पहल गरेको बताए ।
रानाका अनुसार निरन्तर कटानी रोक्नका लागि योजना अगाडि बढाइएको छ । तटबन्ध निर्माण भएसँगै लालझाडीको उर्वराभूमि कटानीबाट जोगिने र यसबाट किसान प्रत्यक्ष लाभान्वित हुनेसमेत बताइएको छ । यसअघि जनताको तटबन्ध कार्यक्रमअन्तर्गत लालझाडी गाउँपालिकाको एक र दुई वडाका केही क्षेत्रमा निर्माण कार्य सम्पन्न भएको छ ।