‘रिलायबल समृद्धि योजना’ बिक्री खुला

काठमाडौं– रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ बिक्री खुला भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक रहेको योजनाको आकार एक अर्ब रहेको छ ।
जस मध्ये आठ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशनमार्फत विक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ । बन्दमुखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्री गर्न सकिने बताइएको छ । यो योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रवर्द्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो ।
यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ । रिलायबल सामूहिक लगानी कोष को सार्वजनिक निष्काशन वैशाख ३ देखि छिटोमा ७ गते र ढिलोमा १७ गतेसम्म खुल्ला रहने बताइएको छ । यस योजनामा न्यूनतम एक हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैंक वा मेरोसेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सकिने बताइएको छ ।