विजौरामा सडक निर्माणमा समस्या

बीरेन्द्रनगर– पश्चिम सुर्खेतको बडड्डीचौर–विद्यापुर–विजौराहुँदै लगाम सडक खण्डको बीचमा रहेको गुटु–बल्दे खण्डको विजौरामा सडक निर्माणमा अवरोध आएपछि समस्य भएको छ । अस्थायी ट्याक खुलेको २९ वर्षपछि राजमार्गको मान्यता पाएसँगै कामले तीव्रता पाइरहेको समयमा विजौरामा विवाद हुँदा समस्य उत्पन्न भएको हो । २०७९ फागुन १८ देखि विद्यापुर–गुटु–विजौरा–बल्दे सडक निर्माण थालिएको थियो ।
मदन भण्डारी सडकको दोस्रो प्याकेजको रुपमा रहेको यो खण्डमा २२ किलोमिटर सडकको काम भइरहेपनि विवाद आउँदा समस्य भएको हो । गुटु–बल्दे खण्डको विजौरामा स्थानीय अवरोधका कारण अन्तत मदन भण्डारी राजमार्ग योजना कार्यालयले हात झिक्ने तयारी गरेको हो । विजौराको अस्पताल चोकदेखि विजौरा बजारहुँदै डुङ खोलासम्मको झण्डै १५ सय मिटरमा विवाद छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा अस्पताल चौक–विजौरा बजार हुँदै सडक डुङ खोला जोड्ने उल्लेख छ ।
डीपीआर निर्माणको क्रममा कुनै अवरोध नगरेका स्थानीयले अहिले सडक निर्माणको क्रममा बखेडा झिक्दा विजौरा क्षेत्रको काम नहुने लगभग निश्चित भएको हो । डीपीआर अनुसार सडक निर्माण गर्ने हो भने चौकुने गाउँपालिका–४ मा पर्ने विजौरा बजार विस्थापित गर्नुपर्छ । बजारसँगै केही व्यक्तिको जग्गासमेत सडकमा पर्ने भएपछि स्थानीयले अवरोध गरेका हुन् । चौकुने गाउँपालिका–४ का वडाध्यक्ष टोपबहादुर विसीकोसमेत जग्गा सडक निर्माण गर्दा उठिबास हुने अवस्था छ ।
अस्पताल चोकदेखि विजौरा बजारको भएर सडकमा डुङ खोला लिनेगरी यसअघि नै डीपीआर बनेको छ । कार्यालयले डीपीआर अनुसार नै सडक निर्माण गर्नुपर्ने र राष्ट्रिय राजमार्ग घुमाउनुभन्दा जतिसक्यो छोटो मार्ग हुनेगरी निर्माण हुनुपर्ने बताउँदै आएको छ । सडक घुमाएर लैजाँदा वडाध्यक्षसहितको जग्गा र विजौरा बजार विस्थापित हुँदैन् । बजार क्षेत्रबाटै सडक लैजाने हो भने झण्डै दुई दर्जन घर विस्थापित हुने अवस्था छ ।
सडक घुमाएर लैजाँदा अस्पतालबाट किनारा किनारै विजौरा स्कुलको दक्षिणबाट डुङ खोला पुर्याउनुपर्ने तर्क स्थानीयको छ । विजौरा बजारदेखि पूर्वी क्षेत्रको खेतीयोग्य किनारा किनारै सडक विजौरा स्कुल अगाडिबाट बजारमा निस्किन्छ । विजौरा बजारदेखि पूर्वी–उत्तरबाट बगेर आउने पानीको निकास हुने खोलाका कारण स्थायी सडक बनाउन नसकिँदा सहमतिमा व्यक्तिगत जग्गाबाट अस्थायी सडक दिएको वडाध्यक्ष बिसी बताउँछन ।
सडक निर्माणमा भइरहेको अवरोध सल्टाउन स्थानीय र कार्यालयबीच पटक पटक छलफल गराउँदा पनि निकास निकाल्न नसकिएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् । ‘विगतमा डीपीआर बजार हुँदै गरियो, त्यो बेला नै स्थानीयले अवरोध गर्नुभएन्,’ अध्यक्ष विकले भने, ‘सडक बन्छ की बन्दैन भन्ने अन्यौलतामै रहेर डीपीआर गर्न दिएजस्तो लाग्छ । अहिले पश्चिमबासीका लागि लाइफलाइन राजमार्ग बनिरहँँदा विवाद सल्टाउनमा चुनौती थपियो ।’
स्थानीयले घुमाएर लैजान भनिएको विजौरा स्कुलदेखि आउने सडक निर्माण गर्दा झण्डै दुई किलोमिटर लामो हो । बजार क्षेत्रबाट लैजाँदा १५ सय मिटरमा डुङ खोला जोडिन्छ । ‘विवाद समाधानका लागि पटक–पटक गाउँपालिका, स्थानीय र सांसदसहितको छलफल गरिसकिएको छ,’ मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका ईन्जिनियर रेशम वली भन्छन्, ‘कुनै पनि अवस्थामा समस्या समाधान नभएपछि यो खण्डको काम नगर्ने मोडमा कार्यालयमा पुगेको छ ।’
राजमार्गको डीपीआरबाहेक अन्यत्रबाट सडक लैजान नसकिने ईन्जिनियर वलीको भनाइ छ । स्थानीयको अवरोध कायमै रहे विजौरा क्षेत्रको विवाद त्यत्तिकै छाडेर बाँकी सडक कालोपत्रे गर्न लागेको उनले बताए । अहिले विजौराको डुङ खोलादेखि बल्दे र विजौरा डाँडादेखि विद्यापुर डाँडासम्मको २२ किलोमिटरमध्ये १७ किलोमिटर सडक असारसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
बाँकी कुनै भव्यतव्य र अवरोध नभए कार्तिकसम्म दोस्रो खण्डको काम सक्ने तयारीमा कार्यालय छ । सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम जोडिन्छ । यो खण्डमा राजमार्गको दूरी ८५ किलोमिटर छ । विद्यापुर–बल्दे खण्डको सडक निर्माणको लागत एक अर्ब २१ करोड रहेको छ । बानियाँ मोतिदान डीएस जेभी काठमाडौंले निर्माण गरिरहेको सडक गत फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने म्याद छ ।
मदन भण्डारीले तेस्रो प्याकेज अन्तरगत चौर खोला–सालकोट–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौंले पाएको छ । विद्यापुर–चौर खोला र बल्दे–लगाम खण्डको काम जारी छ । विद्यापुर–चौर खोलासम्म असारसम्म ग्राभेल गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।