Logo

व्यावसायिक कृषि गर्ने सहकारी सदस्यलाई ब्याजमा १० प्रतिशत अनुदान

जुम्ला– कृषि विकास कार्यालय जुम्लाले कृषि व्यवसायमा लागेका सहकारी संस्थाका सेयर सदस्यलाई ब्याजमा अनुदान दिने भएको छ । कुनै पनि सहकारीमा आबद्ध सदस्यले कृषि व्यवसायका लागि ऋण लिएको खण्डमा प्रक्रिया पुगेका सेयर सदस्यको कूल ब्याजको १० प्रतिशत ब्याज कृषि विकास कार्यालयले तिरिदिने भएको हो ।

मौज्दात पूँजी ५० लाख बढी भएको, कानुनी प्रक्रिया सबै पूरा गरेको र कृषि व्यवसायका लागि ऋण प्रवाह गरेको सहकारी संस्थाका सदस्यलाई ब्याज अनुदान सेवा दिइने छ । यसअनुसार पहिलो चरणमा कृषि विकास कार्यलय जुम्ला र पुगालि बचत तथा ऋण सहकारी संस्था हिमा गाउँपालिका वडा नं १ आचार्यलिहि बिच सेयर सदस्यले कृषि व्यवसायका लागि लिएको ऋणको १० प्रतिशत ब्याज तिरिदिने विषयमा सम्झौता भएको छ ।

उक्त सहकारीका कुनै पनि सेयर सदस्यले कृषि व्यवसायका लागि न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म ऋण लिएमा उक्त ऋणको हुन आउने कूल ब्याजको १० प्रतिशत ब्याज अनुदानमा कार्यालयले व्यहोर्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

उनले भने, ‘कृषि व्यवसायलाई प्रवर्द्धन गर्न तथा सहकारीलाई उत्पादनमुखी बनाउन प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र जुम्लामा मात्रै यो कार्यक्रम लागू भएको छ । अन्य ८ जिल्लाले अझै सुरु गरेका छैनन् । थोरै भए पनि १० प्रतिशत ब्याजमा अनुदान पाएपछि राहत पुग्ने अपेक्षा छ ।’

कृषि तथा सहकारी कार्यक्रम सञ्चालन व्यवस्थापन कार्यक्रम कार्यविधि–२०८१ अनुसार ५० लाखसम्म मौज्दात पुँजी भएका सहकारीहरुले मात्र यो सेवा पाउने छन् । जिल्लाका आठै पालिकामा रहेका सहकारी सदस्यहरुलाई कृषिमा प्रेरित गर्न ब्याज अनुदान कार्यक्रम कोशेढुंगा सावित हुने अपेक्षा छ । जुम्लामा स्याउ, ओखर, तरकारी खेती लगायत कृषि व्यवसायको सम्भावना राम्रो भएकाले उत्पादनसँगै आम्दानी बढाउन प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम अघि बढाएको प्रमुख अधिकारीले उल्लेख गरे ।

कार्यविधि अनुसार न्यूनतम ५० हजारदेखि ५ लाखसम्म कृषि व्यवसाय प्रयोजनको ऋण हुनुपर्ने, ठोस व्यावसायिक योजना निर्माण गरेको हुनुपर्ने लगायतका आधार तय गरिएका छन् । पहिलो वर्ष ब्याज अनुदान कार्यक्रम परिक्षण जस्तै गरिएको छ । कृषि व्यवसाय प्रवर्द्धनका लागि ब्याज अनुदान कार्यक्रम निकै महत्त्वपूर्ण मानिए पनि बजेट भने थोरै विनियोजन भएको छ । कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आवमा उक्त कार्यक्रम कार्यान्वयनका लागि ३ लाख ५० हजार बजेटमात्रै विनियोजन भएको छ ।

यसअघिको सूचना प्रकाशनपछि हिमा गाउँपालिकाको पुगालि बचत तथा ऋण सहकारी संस्था सम्पर्कमा आएको थियो । अब पुन: सूचना आह्वान गरी प्रक्रियामा आएका सहकारीका सदस्यलाई सुविधा उपलब्ध गराइने छ । जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष रिसिराम पाण्डेले भने जिल्लाका धेरै सहकारी संघमा आबद्ध नभएको बताए । उनका अनुसार जिल्लामा ३ सय वटा सहकारी संस्था भए पनि सहकारी संघमा ८४ वटा सहकारी मात्रै आबद्ध भएका छन् । जिल्लाका अधिकांश सहकारी उत्पादनमा आधारित छैनन् ।

कर्णालीकै उत्कृष्ट सहकारी कहलिएको चन्दननाथ बहुउदेश्यीय सहकारीका व्यवस्थापक समेत रहेका पाण्डेले भने, ‘जिल्लामा अधिकांश सहकारी कृषिमा आधारित छैनन् । तर चन्दननाथले सेयर सदस्यलाई कृषिमा आधारित लगानी बढाउँदै गएको छ । उत्पादन वृद्धिमा पनि जोड दिएका छौं । उत्पादन बढाउन ऋण लगानी गर्ने र सेयर सदस्यको उत्पादन सहकारीले नै खरिद गर्ने गरेका छौं ।’ सरकारले १० प्रतिशत मात्रै भए पनि ब्याजमा अनुदान दिने कार्यक्रम प्रभावकारी हुने अध्यक्ष पाण्डेले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्