Logo

किसानले पाए ५० प्रतिशत अनुदानमा कृषि उपकरण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गरेका छन् । कृषकहरुको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताए । अनुदान तथा सहुलियतमुखी कार्यक्रमहरुले कृषकहरुलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ ।

यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा कृषकलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी संस्थाका सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको हो । मकै बीउ वितरण तथा मकै बीउ प्रबद्र्धन कार्यक्रम अन्तर्गत हाते ट्याक्टर, मकै छोडाउने उपकरण लगायतका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

उनका अनुसार पाँच थान हातेट्याक्टर, पाँच थान मकै छोडाउने उपकरण, पाँच थान स्प्रेयर वितरण गरिएको छ । त्यस्तै, ८५ प्रतिशत अनुदानमा ९७ मिटर कुलो निर्माणका लागि पाइप, ७५ प्रतिशत अनुदानमा तीन सय रोपनीका लागि मकै बीउ वितरण गरिएको उनले बताए । सबै सामग्रीहरुको मूल्य कुल सात लाख ३८ हजार रहेको उनको भनाइ छ । सहकारी संस्थामार्फत् मकैको बीउ सो वडाको ढाडखोला, डाडागाउँ, छ सय फाँट, देवीपानीटोल, देउराली टोलमा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्