Logo

कास्कीको रुपामा स्वास्थ्य बीमा कार्यक्रम

पोखरा– कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । बीमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । यसअघि स्वास्थ्य बीमा कार्यक्रमको सेवा लिन पोखरासम्म धाउनुपर्ने रुपा गाउँका स्थानीयलाई अब भने उक्त अस्पतालमा बीमा सेवा सुरु भएसँगै राहत हुने उनले बताए ।

अध्यक्ष ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै स्वास्थ्य बीमा कार्यक्रम सोमबार सुरुवात गरेका थिए । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनाको परिवारको बीमा गर्दा लाग्ने ३ हजार ५ सय रुपैयाँको पचास प्रतिशत १ हजार ७ सय ५० रुपैयाँ गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष ओझाले बताए ।

पालिकाले बीमा स्वास्थ्य कार्यक्रमका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष ओझाले बताए । रुपा गाउँमा करिब ३ हजार ५ सय घर परिवार रहेका छन् भने हालसम्म ५ सय घर परिवारले स्वास्थ्य बीमा गरेको पालिकाले बताएको छ । जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नयाँ वर्षमा नयाँ कामको थालनी गरेको बताउँदै अध्यक्ष ओझाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पतालसहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको उल्लेख गरे ।

स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । २ जना चिकित्सकसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना रहेको ओझाले सुनाए । अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन ९ वटै स्वास्थ्य संस्थामा ३७ जनालाई करार नियुक्त गरिएको पालिकाले जनाएको छ ।

अध्यक्ष ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अन्यत्र रेफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा (ओपिडी) सुरु हुन उनले जनाए । जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै पाँच महिनाको तयारीपछि सेवा आरम्भ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए ।

रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिन बाहेक ओपिडी सेवा, नि:शुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जनाए । स्वास्थ्य जनचेतना जगाउन विद्यालय कार्यक्रम अस्पतालले गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्