Logo

अर्थतन्त्रमा सुधारका बाछिटा

पछिल्लो तीन वर्षदेखि सुस्त बनेको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुनसम्मका आर्थिक तथा वित्तीय तथ्यांकमा अर्थतन्त्रमा सुधारका लक्षण देखिएका छन् । विदेशी विनिमय सञ्चितिसहित बाह्य क्षेत्र विगतदेखि नै मजबुत छ । आठ महिनासम्ममा रेमिटेन्स आय ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस्तै चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा छ भने शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब रुपैयाँले बचतमा छ ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुनसम्ममा १८ प्रतिशतले बढेर २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुनमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ । चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

गत वर्षसम्म वैदेशिक व्यापार पनि सुस्त रहेकोमा अहिले बढ्न सुरु भएको छ । गत वर्ष फागुनसम्ममा २.७ प्रतिशतले घटेको कुल वस्तु आयात चालु आवको सोही समयमा भने ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै, गत वर्ष ४ प्रतिशतले घटेको निर्यात चालु आवको सोही अवधिमा ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यो वर्ष महँगीको मारमा पनि उपभोक्ता पर्नुपरेको छैन । यो वर्षको फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ । अहिलेसम्मको तथ्यांक हेर्दा मौद्रिक नीतिले लक्ष्य गरेभन्दा पनि महँगी कम देखिन्छ । यी सबै तथ्यांकले मुलुकको बाह्य क्षेत्र अझै पनि मजबुत रहेको प्रस्ट पारेका छन् । अर्कातिर यो वर्ष अर्थतन्त्रको वृद्धिदर ४ प्रतिशत हाराहारीमा रहने प्रक्षेपणहरू भइरहेका छन् ।

विश्व बैंक, एसियाली विकास बैंक, राष्ट्रिय तथ्यांक कार्यालयलगायतले प्रक्षेपण गरेका आर्थिक वृद्धिको दर केही तलमाथि देखिन्छ । तर पनि यो वर्ष ४ प्रतिशतवरपरमा अर्थतन्त्रको आकार बढ्ने निश्चित छ । ४ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर पक्कै पनि धेरै थोरै होइन । तर, हाम्रो प्रमुख समस्या भनेको आन्तरिक माग सिर्जना नहुनु हो । आन्तरिक माग कस्तो छ भन्ने एउटा प्रमुख सूचक निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर हो । यो वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा १२.५ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । अहिलेसम्म यस्तो कर्जा ६ प्रतिशतले मात्र बढेको छ ।

यो पक्कै पनि गतिलो तथ्यांक होइन । तर पनि पछिल्ला दुई वर्षका तुलनामा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा सुस्त गतिमा भए पनि बढ्दै गएको देखिन्छ । यसलाई सुधार सुरु भएको अर्थमा लिन सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशत, आवधिक कर्जा ३.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३१.५ प्रतिशत, हायर पर्चेज कर्जा ४.७ प्रतिशत, नगद प्रवाह कर्जा ३.६ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९५ प्रतिशतले बढेको छ ।

यी सबै क्षेत्रमा कर्जा प्रवाह थोरै–धेरै जस्तो भए पनि बढेका छन् । कर्जा प्रवाहमा सुधार आएकै कारण आयातदेखि आन्तरिक उत्पादनसम्ममा सुधार आइरहेको छ । लामो समयदेखि ऋणात्मक रहेका कतिपय क्षेत्र पनि अहिले धनात्मक बन्न पुगेका छन् । यस्तो बेला बैंक ब्याजदरसमेत निरन्तर घट्दै गएको छ भने बैंकिङ प्रणालीमा ६७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यसलाई सदुपयोग गर्न सके अहिलेको सुस्त अर्थतन्त्रमा पक्कै पनि थप गतिशीलता आउनेछ ।

प्रतिक्रिया दिनुहोस्