Logo

ग्वार्को ओभरपास बर्खाअघि सक्ने लक्ष्य

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपास यो वर्षको बर्खाअघि नै तयार हुने भएको छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेका कारण जेठ मसान्तसम्ममा ओभरपास तयार हुने देखिएको हो ।

सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ ।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार बर्खाअघि नै सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । उनले भने, ‘हर्जाना तिराएर काम भइरहेको छ । बर्खाअघि नै सक्ने तयारी छ । मौसम अनुकूल भयो भने जेठसम्ममा पूरा हुन्छ ।’

ठेक्का रकमको ०.०५ प्रतिशत दैनिक हर्जाना तिराउने निर्णय भएर निर्माण कम्पनीले काम गरिरहेको थियो । तर, पुस १८ गतेबाट निर्माण व्यवसायी काम रोकेर सम्पर्कविहीन भएपछि समयमा निर्माण पूरा हुने म्याद ढल्किएको थियो । १७ करोडमा ओभरपास निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद गएको फागुनको १२ गतेसम्म थियो । निर्माण कम्पनीले पछिल्लो समय आगामी चैतभित्र काम सक्ने कार्ययोजना पेश गरेको थियो । सम्झौताअनुसार दुई वर्षमा काम सक्नुपर्ने हो । तर, एक वर्ष समय थप्दा पनि आयोजनाको भौतिक प्रगति ८२ प्रतिशतमात्र पुगेको छ ।

र्‍याम रिइन्स्टल गर्नुपरेकाले समय लागेको र हाल पूरा हुने क्रममा रहेको केन्द्रले जनाएको छ । निर्देशक बाराहीका अनुसार सातदोबाटोतर्फको र्‍याम पुनः इन्स्टल गरेर पूरा हुने क्रममा रहेको छ । पछिल्लो समय भने ओभरपासमा जाने एप्रोच सडक र आइरन वाल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्देशक बाराहीले भने, ‘सातदोबाटोतर्फको र्‍याममा त्रुटि देखिएकाले पुनः इन्स्टल हुने क्रममा छ । कोटेश्वरतर्फको भने सब–बेसको काम सकेर ग्राभेल र एप्रोच सडकको ढलान हुँदैछ ।’ सब–बेस तयार पारेर कालोपत्रे गरिने केन्द्रले जनाएको छ । सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्‍याममा ४० मिटरमा त्रुटि देखिएकाले पुनः इन्स्टल गर्नुपर्ने भएको हो ।

गत असोज दोस्रो साताको भारी वर्षाका कारण कामले गति लिन सकेको थिएन । ओभरपास बनाउनका लागि अहिले आठ लेन सडकमध्ये चार लेन बन्द गरिएको छ । सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।

ग्वार्को ओभरपास इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको हो । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र ओभरपास र निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको केन्द्रले जनाएको छ ।

ग्वार्को चोकमा ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । ग्वार्को ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ । ग्वार्को ओभरपास निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म र्‍याम उठाइएको छ ।

१.५ मिटरको ब्यास र ३४ मिटर लम्बाइ भएका ४–४ वटा पाइल भएको ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो । ओभरपास र्‍यामको लम्बाइ ५ सय ५ मिटर, ३६ मिटर पुल गरी कुल ५ सय ४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ । ३० मिटर स्पानको ४ लेनको पुलसहितको ओभरपास निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्