Logo

घरजग्गा कारोबारमा साढे ११ प्रतिशत बढ्यो राजस्व

काठमाडौं– चालु आर्थिक वर्षमा घरजग्गा कारोबार चलायमान हुन नसके पनि यो क्षेत्रबाट उठ्ने राजस्व भने केही बढेको छ ।

गत आवको चैतको तुलनामा यो चैतमा राजस्व ४५ करोड रुपैयाँ बढेको हो । देशभरका मालपोत कार्यालयले गत वर्ष चैतमा ३ अर्ब ९४ करोड राजस्व उठाएका थिए । यो चैतमा बढेर ४ अर्ब ३९ करोड पुगेको हो । यो गत चैतका तुलनामा ११.४२ प्रतिशतको वृद्धि हो ।

घरजग्गा कारोबारबाट आएको यो राजस्व रजिष्ट्रेशन शुल्कको मात्र भने होइन । मालपोत कार्यालयहरुले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित १३ शीर्षकमा कर उठाउँछन् । यो सबै जोडिएको कुल राजस्व हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार आव २०७९–८० को चैतको तुलनामा पनि यो वर्ष राजस्व सामान्य रुपमा घटेको छ । त्यस वर्ष चैतको राजस्व ४ अर्ब ५१ करोड थियो । यस्तै, आव २०७७–७८ को चैतको तुलनामा भने राजस्व झण्डै आधाले कम असुली भएको छ । त्यस वर्ष चैत एकै महिनामा ८ अर्ब ५९ करोड राजस्व असुली भएको थियो ।

विभागका अनुसार राजस्वमा जस्तै पछिल्ला चार वर्षका चैतमा भएको घरजग्गा कारोबार (लिखत पारित) को संख्यामा पनि उतारचढाव आएको देखिन्छ ।
देशभरका मालपोत कार्यालयमा यो वर्ष चैतमा ४९ हजार ८३२ वटा घरजग्गा कारोबारको लिखत पारित भएको छ । गत आवको चैतमा यस्तो संख्या ५० हजार २ सय ५२ थियो । गत आवको तुलनामा यो चैतको कारोबार ०.८३ प्रतिशले कमी हो । यस्तै, आव २०७९–८० मा ४९ हजार १५० र आव २०७७–७८ मा ८७ हजार १८७ वटा लिखत पारित भएका थिए ।

घरजग्गा कारोबारमा गत वर्ष र यस वर्षका नौ महिनालाई तुलना गर्ने हो भने यो वर्ष राजस्व बढेको देखिन्छ । गत आवको चैतसम्ममा मालपोत कार्यालयहरुबाट कुल राजस्व २९ अर्ब २५ करोड रुपैयाँ असुली भएको थियो । चालु आवको चैतसम्ममा यस्तो राजस्व ३३ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यो गत चैतको तुलनामा ३ अर्ब ९४ करोड बढी हो ।

चालु आवको चैतसम्ममा प्रतिमहिना औषतमा ३ अर्ब ६८ करोड ८८ लाख रुपैयाँका दरले राजस्व असुली भएको छ । गत वर्ष चैतसम्म प्रतिमहिना राजस्व असुली औषतमा ३ अर्ब २५ करोड रुपैयाँ थियो । यो वर्ष अहिलेसम्म औषतमा प्रतिमहिना करिब ४३ करोड रुपैयाँ राजस्व बढेको छ । विभागका अनुसार यो वर्ष चैतसम्मका ८ महिनामध्ये एकबाहेक सबै महिनामा राजस्व बढेको छ । गत वर्ष असोजको भन्दा यो वर्ष असोजमा एक अर्ब रुपैयाँ राजस्व कम उठेको थियो । अन्य सबै महिनामा राजस्व बढेको छ ।

विभागका अनुसार गत असोजमा ४ अर्ब ८ करोड राजस्व असुली भएको थियो भने यो असोजमा ३ अर्ब ८ करोड संकलन भएको छ । यस्तै, सुरु महिना साउनमा यो वर्ष ३ अर्ब ८३ करोड राजस्व असुली भएको छ । गत वर्ष साउनमा राजस्व २ अर्ब ९१ करोड उठेको थियो । गत वर्ष भदौमा ३ अर्ब ४ करोड राजस्व संकलन भएकामा यो वर्ष भदौमा ५ करोडले बढेर ३ अर्ब ९ करोड पुगेको छ । यो वर्ष कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व असुली भएको छ । गत वर्ष कात्तिकको राजस्व २ अर्ब १६ करोड रुपैयाँ थियो ।

विभागका अनुसार गत वर्ष मंसिरमा २ अर्ब ८६ करोड राजस्व उठेकामा यो मंसिरमा ३ अर्ब ८७ करोड पुगेको छ । यो महिनामा पनि राजस्व एक अर्ब एक करोडले बढेको छ । पुसमा पनि गत वर्षभन्दा एक अर्ब ५ करोड रुपैयाँ घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढेको छ । गत वर्ष पुसमा ३ अर्ब २० करोड राजस्व उठेकामा यो वर्ष पुसको राजस्व ४ अर्ब २५ करोड पुगेको छ । यस्तै, माघमा पनि राजस्व केही बढेको छ । यो वर्ष माघमा ३ अर्ब ८७ करोड राजस्व असुली भएको छ । गत वर्ष माघको राजस्व ३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

विभागका अनुसार गत साउनको तुलनामा यो साउनमा ९२ करोड रुपैयाँले राजस्व बढेकामा भदौमा ५ करोडमात्र वृद्धि भएको छ । यस्तै, असोजमा एक अर्ब रुपैयाँले घटेको राजस्व कात्तिकमा ५४ करोड र मंसिरमा फेरि एक अर्ब एक करोडले बढेको छ । पुसको राजस्व गत वर्षभन्दा एक अर्ब ५ करोडले बढ्दा माघमा भने ५० करोडले मात्र वृद्धि भएको छ । चालु आवका सात महिनामध्ये दुई महिनामा राजस्व असुली एक अर्बभन्दा माथिले बढेको छ भने एक महिना एक अर्ब रुपैयाँले घटेको छ ।

कोभिड महामारीपछि अर्थतन्त्रमा आएको सुस्ततासँगै घरजग्गा कारोबारमा पनि मन्दी आएको थियो । अहिले सुस्त अर्थतन्त्र विस्तारै चलायमान हुन सुरु गरेको छ । यो वर्ष करिब ४ प्रतिशतले अर्थतन्त्रको आकार बढ्ने प्रक्षेपणहरु गरिएका छन् । आन्तरिक उत्पादन पनि बढ्न सुरु भएको छ ।

यस्तै, अर्थतन्त्रको बाह्य क्षेत्र झनै मजबुत हुँदै आएको छ । वैदेशिक व्यापारमा सुधार आएको छ । आयात बढेका कारण आन्तरिक बजार चलायमान भएको संकेत मिलेको छ । निर्यातमा पनि सुधार आएको छ । अर्थतन्त्रका यी सबै क्षेत्रमा सुधार देखिन सुरु भएकाले त्यसको प्रभाव घरजग्गा कारोबारमा पनि परेको हो ।

विगतमा घरजग्गा कारोबार उच्च दरले बढेको थियो । यो क्षेत्रमा गरिएको लगानीले प्रतिफल पनि राम्रो दिने गरेको थियो । यही कारण सबैको आकर्षण यही क्षेत्रमा हुने गरेको थियो । अहिले भने घरजग्गामा गरिएको लगानीले बैंकको ब्याज पनि तिर्न सक्ने अवस्था छैन । उल्टै लगानी डुब्ने डर देखिएको छ ।

अर्कोतिर सरकारले जग्गाको कित्ताकाट गर्न रोकेका कारण पनि यसको कारोबारमा मन्दी आएको थियो । अहिले कित्ताकाट खुला भएको छ । यस्तै, सबै स्थानीय तहले जग्गा वर्गीकरणको काम पूरा गरेकाले अहिले विस्तारै यो क्षेत्रको कारोबार बढ्न सुरु गरेको छ ।

२०७६ सालमा भू–उपयोग ऐन र २०७९ मा भू–उपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि कित्ताकाट रोकेको थियो । यसपछि घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो । यसपछि कारोबारमा केही सुधार देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्