सवारी रोकेरै वालिङ–हुवास सडक कालोपत्रे सुरु

पर्वत– दक्षिण पर्वतलाई छिमेकी जिल्ला स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । वालिङ–हुवास सडक खण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङ सम्मको सडक कालोपत्रे गर्न सुरु गरिएको हो । उक्त सडक खण्डको गत बिहीबारदेखि सवारी आवतजावत बन्द गरेर धमाधम निर्माण कार्य भइरहेको छ ।
संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजन भएको चार करोड रुपैयाँबाट काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । कार्यालयका अनुसार भिरालो जमिनमा रहेको सडक भएकाले झण्डै एक किलोमिटर ढलान र बाँकी खण्डमा कालोपत्रे गरिने भएको छ ।
सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि गुरुङ, कालिगंगा निरौला जेभिले जिम्मा पाएको छ । चालु आर्थिक वर्षभित्र नै उक्त बजेटअन्तर्गतको काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले मजदुर र उपकरण परिचालन गरिसकेको सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिए ।
विसं २०४९ सालमा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको सडक कालोपत्रे हुने भएको हो । निर्माण कार्यलाई तीव्रता दिनका लागि उक्त सडक खण्डमा दैनिक बिहान आठ बजेपछि र साँझ पाँच बजेसम्म सवारी साधनको आवत–जावत पूर्ण रूपमा रोक लगाइएको छ । सडक बिहान आठ बजेसम्म र साँझ पाँचबजेपछि मात्र सञ्चालनमा रहने पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए ।
सडक प्रयोगकर्तालाई असुविधा नहुने गरी वैकल्पिक सडकको प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । यो सडक स्तोरन्नति र कालोपत्रेका लागि गत माघमा मन्त्रालयबाट बजेट स्वीकृत भएको थियो । बजेट स्वीकृत भएलगत्तै सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नापजाँच गरी टेण्डर आह्वान गरेको इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिए ।
पियाखेतदेखि हुवास–त्रिवेणी–वहाकी–रानीपानीसम्मको सडक भने यसअघि नै कालोपत्रे भइसकेको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्रे गरेको हो । बाँकी रहेको डुम्रेभञ्ज्याङदेखि चिसापानी सडक कालोपत्रे भएपछि दक्षिण पर्वतका बासिन्दालाई यात्रा गर्न सहज हुने भएको छ । यो सडकवाट पर्वतको पैंयू गाउँपालिकाका सात, विहादीका ६ वटा वडाका साथै महाशिला र फलेवास नगरपालिकाका बासिन्दासमेत लाभान्वित हुने भएका छन् ।
सडक कालोपत्रे भएपछि सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोरबीच पनि सिधा सम्पर्क विस्तार हुनुका साथै वैकिल्पक मार्गको रूपमा समेत प्रयोग गर्न सकिने पैंयू गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष नारायण भुर्तेलले बताए । चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाइ छ । १६ किलोमिटर लामो वालिङ–हुवास सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौ समय र जोखिम मोल्नुपर्ने अवस्था छ ।