रोजाइ बन्दै ‘खासुर होमस्टे’ «

रोजाइ बन्दै ‘खासुर होमस्टे’

लमजुङ-पहाडी जिल्ला लमजुङ पछिल्लो समय होमस्टे हवका रूपमा चिनिँदै गएको छ । दर्जनभन्दा बढी गाउँहरूमा व्यावसायिक होमस्टे सुरु भएको लमजुङमा पछिल्लो समय पर्यटकहरूको आकर्षण पनि बढ्दै गएको छ ।
जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको खासुर गाउँ जिल्ला सदरमुकामबाट सबैभन्दा कम दूरीको होमस्टे गाउँ हो । ग्रामिण पर्यटन प्रवद्र्धनमा डेढदशक अघिदेखिनै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न थालेको खासुर गाउँमा हालै मात्र औपचारिक रूपमा होमस्टेको उद्घाटन भएको छ ।
पर्यटन वर्ष लक्षित थप प्रवद्र्धन एवं प्रचार–प्रसार गर्ने उद्देश्यले खासुरमा औपचारिक रूपमा घरबास अर्थात होमस्टे सुरु भएको हो । एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खासुर होमस्टेको उद्घाटन गरेका हुन् । पर्यटन वर्षको उत्साहसँगै बढ्दो पर्यटक आगमनलाई लक्षित गरी गाउँमा व्यवस्थीत होमस्टे सुरु भएको स्थानिय खासुर ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष नन्दबहादुर घलेले बताए ।
जिल्लाकै उत्कृष्ट र रमणीय मध्येको पर्यटकिय गन्तव्य खासुर गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको विशेष रोजाइमा पर्न थालेको छ । पर्यटन वर्षको शुरुवाती सँगै खासुर गाउँमा पर्यटकहरूको आगमन बढेको हो । स्थानीयले हाल १० घरमा व्यवस्थित होमस्टे सुरु गरेका हुन् ।
सदरमुकाम बेंसीसहरबाट पैदल एक घण्टा १५ मिनेट र सवारी साधनबाट ३० मिनेटमा सजिलै खासुर गाउँ पुग्न सकिन्छ । गाउँमा दैनिक आन्तरिक पर्यटकहरू आउने गर्छन् । प्रत्येक शुक्रबार त झनै पर्यटक थेगिनसक्नु हुन्छ । सदरमुकाम बेंसीसहरबाट नजिकै भएकाले पनि सधैंजसो शुक्रबार पाहुनाहरूको चाप बढी भएको समितिका सचिव जीवराज घलेले बताए ।
गाउँमा आउने पर्यटकहरूलाई स्थानीय नारीहरूको पहलमा सञ्चालनमा ल्याइएको सामुदायिक खाजा घरमा स्वागत तथा सम्मान गर्छ । सोही समाजले गाउँमा आएका सबै पाहुनाहरूको व्यवस्थापन गर्दै आएका छन् ।
पर्यटकहरूको आगमन बढेसँगै स्थानीय पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । पर्यटन वर्षको अवसरमा सरोकारवालाहरूले कम चासो दिएपनि गाउँमा पर्यटकहरूको आगमन बढ्न थालेपछि स्थानियहरू उत्साहित बनेको स्थानिय प्रगती नारी समाजकी अध्यक्ष रूपा घलेले बताइन् ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५९ सालबाट खासुरको पर्यटन विकासको अवधारणा ल्याइएको हो । द्वन्द्वको प्रभाव र प्रचार–प्रसारको कमीले गर्दा उचाइ लिन नसकेको खासुर गाउँ पर्यटन वर्षको घोषणासँगै उत्साही भएको समितिका सचिव घलेको भनाइ थियो ।
पर्यटन वर्षलाई लक्षित गरी होमस्टे सुधार र थप व्यवस्थापनमा लागिपरेको सचिव घलेले बताए । पछिल्लो समय विभिन्न चुनौतीहरूलाई सामना गर्दै र व्यवस्थापनलाई सुधार गर्दै जिल्लाकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन स्थानीय लागि परेका छन् ।
स्रोत र सम्पदाले भरिपूर्ण भएको र पर्यटनबाट नै समृद्धि सम्भव भएको भन्दै गाउँको प्रवद्र्धनमा विशेष लागिपरेको खासुर ग्रामीण पर्यटन विकास समितिले जनाएको छ । खसहरू बसाइसरी घलेहरूले सुरु गरेको तथा खर्सु घलेले वस्ती सुरु गरेको कथनलाई खर्सुबाट अपभ्रंश भई सो गाउँको नाम खासुर रहन गएको किंवदन्ती छ । गाँउमा ४२ घर घले ३० घर गुरुङ, २८ घर विश्वर्कमा, ४ घर परियार, ३ घर तमाङ, मगर ६ घर, घर्ती १६ घर, अन्य जातिको गरी जम्मा १ सय ५३ घरधुरी छन् ।
खासुर गाउँको मनमोहक दृश्य तथा यस गाँउको रहन सहन तथा कला संस्कृतिको बेजोड नमुनाले बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याइरहेको छ । यहाँको प्रकृति, सस्कृति र यहाँको रहनसहनले आनन्द मिलेको खासुर पुग्ने पर्यटकहरू बताउछन् ।
समुन्द्री सतहबाट पाँचसय मिटरको उचाइमा रहेको खासुर गाँउका ढुङ्गाले छाएका घरहरूको दृश्य अर्को पर्यटकीय आकर्षण हो । बिहानै उठेर आँगनबाट देखिने अन्नपूर्ण हिमालले त पर्यटकहरू झनै मोहित हुने गर्छन् ।
विशेष गरी खासुरमा घलेहरूको बाक्लो बस्ती भएकोले यो गाउँ गुरुङ संस्कृतिमा निकै धनी छ । रोधी, घाँटुलगायतका गुरुङ संस्कृतिको संरक्षणमा ध्यान दिँदै पर्यटकहरूलाई भित्र्याउने पहलमा लागि परेको स्थानीयले बताए ।

सामूहिक खाजा घर
सशस्त्र द्वन्द्वको चपेटामा परेको खासुर गाउँ पछिल्लो समय धेरैको रोजाइमा परेको छ । स्थानीयको मुख्य पेसाको रुपमा पशुपालन र कृषि भए पनि पछिल्लो समय स्थानीयले पर्यटनलाई विशेष प्राथमिकतामा राखेका छन् । पर्यटन विकाससँगै खासुरका स्थानीय दिदीबहिनीहरूले व्यावसायिक रूपमा सामूहिक खाजाघर सञ्चालन गरेका हुन् । स्थानीय खासुर प्रगति नारी समाजको रूपमा समूह दर्ता गरी सामूहिक खाजा घर सञ्चालन गरेपछि गाउँको पर्यटकीय विशेषता थपिएको छ ।
गाउँमा आएका पाहुनाहरूलाई सोहि समूहका दिदीबहिनीहरूले स्वागत गर्ने, खुवाउने र साँस्कृतिक कार्यक्रम देखाउने गर्छन् । हाल अविवाहित नारीहरू १५ जना रहेको सो समूहले पालैपालो पाहुनाहरूको सत्कार गर्ने समूहकी अध्यक्ष रूपा घलेले बताइन् ।
एक घरमा दुई जनादेखि चार जनासम्म बस्न मिल्ने १० घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालन गरिएका घरहरूमा सफा कोठा, बाथरोम, शौचालय आदिको राम्रो व्यवस्था छ ।

 

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्