कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

वीरेन्द्रनगर– आर्थिक वर्ष २०८०/०८१ देखि चैतसम्म २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरि ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ वटा पक्की पुल तथा ४२ वटा झोलुंगे पुल निर्माण भएका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ वटा झोलुंगे पुल निर्माण भएका छन् । पाँचवटा सडकमा पुल (मोटरेबल) निर्माण भएको पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । हुम्लामा चारवटा र कालिकोटमा दुईवटा झोलुंगे पुल निर्माण भएका छन् । त्यस्तै सुर्खेतमा १, जाजरकोटमा १, कालिकोटमा १, मुगुमा १ र सल्यानमा एकवटा मोटरेबल पुल निर्माण भएका हुन् ।
चालु आवमै २१.४५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो अवधिमा ९५ किलोमिटर कालोपत्रे गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । २०५ किलोमिटर ग्राभेल, ५२५ कच्ची कटानको काम भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१/०८२ का लागि बहुवर्षे ठेक्का हुने गरी आठवटा नयाँ मोटरेबल पुल निर्माणका लागि स्वीकृति दिइएको छ ।
त्यस्तै एक बेलिब्रिज पुल निर्माण गर्नका लागि सहमति प्रदान गरिएको छ । ४१ वटा नयाँ झोलुंगे पुल निर्माण गर्नका लागि स्रोत सुनिश्चित गरेर बहुवर्षे ठेक्काको काम सुरु भएका छन् । रुकुम पश्चिममा पाँचवटा योजनामध्ये एक वटा सडक, दुई वटा पुल र २ वटा झोलुंगे पुलमात्र स्रोत सुनिश्चित गरिएको छ । जाजरकोटका तीन वटा बेलिब्रिज पुलका लागि स्रोत सुनिश्चित भई काम सुरु गरे पनि बारेकोट र नलगाड नगरपालिकाको बीचमा रहेको खारामा नलगाड जलविद्युतले पनि पुल निर्माण गरिरहेकाले सो ठाउँमा अहिले तत्काल पुलको काम रोकिएको छ ।
११ वटा योजना सुर्खेतमा स्रोत सुनिश्चित गरिएको छ । जसमध्ये चारवटा झोलुंगे पुल, चारवटा सडक, २ वटा सडक पुल र अन्य संरचना एउटा रहेको छ । दैलेखमा दुईवटा मोटरबल पुल, आठवटा झोलुंगे पुलका लागि बजेट सुरक्षित गरिएको छ । मुगुमा ६ वटा योजनाको मात्र स्रोत सुरक्षित गरिएको छ । हुम्लामा तीनवटा, डोल्पामा आठवटा, जाजरकोटमा चार, कालिकोटमा तीन, दैलेखमा ८, सल्यानमा सात, जुम्लामा चारवटा योजनाको बजेट सुरक्षित गरिएको छ ।
कर्णाली भेरी ६१ वटा योजनाको स्रोत सुरक्षित गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षमा ग्रामीण सडक सन्जाल सुधार आयोजनाअन्तर्गत सुर्खेतको दशरथपुर–जितेजुवा–ढाँडखेत–मटेला–धरमपोखरा सडक सुर्खेत, जाजरकोटको पश्चिम क्षेत्रमा रहेको शिवालय गाउँपालिकाको मोर्क हुँदै छेडागाड नगरपालिकाको चंखिला–बडावन– जुनिचाँदेको सानाखोलाको काम सुरु भएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नार्जी–खोलागाउँ–चौखा–बैरागीठाँटी, मुसीकोट–सल्ले सडकको कालोपत्रेको काम सुरु गरिएको उनले जानकारी दिए । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत दैलेखको डुंगेश्वर–डाँडापराजुल सडक स्तरोन्नति, दैलेखको सम्झौताको काम पूरा भएर काम सुरु हुन लागेको छ । गल्फागाड–थालाकाटे सडक स्नरोन्नतिको कामसमेत सुरु भएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरस्थित रंगशाला वरिपरि, सुर्खेत विमानस्थल जोड्ने लगायतका सडक कालोपत्रे गर्ने काम पूरा भएको उनले जानकारी दिए । हुम्लाको खार्पु–सिमकोट नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिङ्बो बस्ती विकास कार्यक्रमको सम्झौता हुने चरणमा रहेको जानकारी गराएको छ । प्रादेशिक सडक गुरुयोजना अद्यावधिक गरी स्वीकृति अन्तिम चरणमा रहेको बताएको छ ।
सुस्त गतिमा काम गरिरहेका करिब ३५ वटा सडक तथा पुल आयोजनाको हाल दुई तिहाइ आयोजनामा प्रगति सन्तोषजनक रूपमा अघि बढेको मन्त्रालयले दाबी गरेको छ । भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका क्षति भएका सार्वजनिक विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि कुल ५० करोड विनियोजन भई ६२ विद्यालय र १८ स्वास्थ्य चौकी गरी कुल ८० वटा संस्थाको पुनर्निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।