Logo

कैलालीमा बन्यो १८ पुल, पाँच पुल अलपत्र

धनगढी– पूर्वाधार विकास कार्यालय कैलालीले सात वर्ष लगाएर कैलालीमा १८ वटा पुल निर्माण गरेको छ । सो कार्यालयको तथ्यांकअनुसार बहुवर्षीय ठेक्कामार्फत् जिल्लामा १८ वटा पुल निर्माण सम्पन्न भएको छ भने पाँचवटा पुल निर्माणाधीन अवस्थामा छ । १८ वटा पुल निर्माण गर्न ५८ करोड ७६ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

२०७३ मा बहुवर्षीय ठेक्का लगाइएको गोदावरीको भालुखोला पुल २०७६ र धनगढीको शान्तिनगर–जोशी टोल जोड्ने पुल २०७७ मा निर्माण भएको थियो । २०७४ मा ठेक्का लगाइएको लम्कीको चौरी नदी पुल २०७५ मै निर्माण सम्पन्न भएको थियो । २०७६ मा ठेक्का लगाइएका ८ वटा पुलमध्ये घुराहा पुल २०७८, घोडाघोडीको तांला खोला पुल, शेहरी बल्मी पुल, कान्द्रा नदी पुल र कैलारीको डम्मरा–बन्दरगौरी पुल २०७९ मा सम्पन्न भएको थियो ।

त्यसैगरी २०७६ मा ठेक्का लगाइएको जोशीपुर–जानकी गाउँपालिका जोड्ने बरिगाउँ पुल, चुरेको निगाली पुल र गौरीगंगाको मसुरिया–गदरिया पुल २०७७ मा निर्माण भएको थियो । २०७७ मा ठेक्का लगाइएको गोदावरीको कुटी बछेडा पुल, बाका खोला पुल र कौरा खोलामा चिसापानी–सोल्टा पुल २०७८, चाक्ले खोला पुल र बर्दगोरियाको घैला खोला पुल २०७९ बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

२०७७ मा ठेक्का लगाइएको गौरीगंगा–५ को अण्डैया जाने बाटोमा कटनी खोला पुल, गौरीगंगा–१ को चौमाला खोलामा पुरानो र नयाँ बजार जोड्ने पुल र कैलारीको वडा नं. १ र २ जोड्ने सुर्मी नाला पुल भने अलपत्र परेको छ । गौरीगंगा दुई पुल वाईपी कन्स्ट्रक्सनले र कैलारीको सुर्मी नाला पुल थेगिम कन्स्ट्रक्सनले अलपत्र पारेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसैगरी, २०७९ मा ठेक्का लिएको जोशीपुर गाउँपालिका–७ मा पर्ने घैला नाला पुल र धनगढी–६ को विजुलिया–शान्ति टोल जोड्ने नकधरिया खोलापुल कुटुम्भ सिएम भुवनेश्वरी जेभीले अलपत्र पारेको छ । पटक पटक म्याद थप गर्दासमेत यी पुलका निर्माण कम्पनीले काम नगरेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर विनोद खड्काले बताए ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा नौ वटा पुलको बहुवर्षीय ठेक्का आह्वान गरिएको छ । ८८ करोड १९ लाख रुपैयाँ लागत अनुमान भएका ती पुलको आर्थिक मामिला मन्त्रालयले बहुवर्षीय ठेक्का सहमति दिएपछि पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेको छ ।

लम्कीको चुहा–मोतिपुर जोड्ने पथरिया नदी पुल, कैलारी–७ रामपुरको कटनी नदी पुल, गोदावरीको मोहना नदी पुल, गौरीगंगाको शिवपुर पुल, गदरिया–धर्मापुर सडकको धनगढी–१८, गोदावरीको २ र ४ नम्बर वडा जोड्ने पुल, जोशीपुर–५ को घैला नाला पुल, मोहन्यालको बादेखोला पुल र सागुरे खोला पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

यी पुलका लागि चालु वर्षमा १५ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । हालै बोलपत्र आह्वान गरिएको र ठेक्का सम्झौता गर्न तीन महिना लाग्ने भएकाले यो वर्ष विनियोजित बजेट खर्च नहुने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्