कर्जा प्रवाह बढाऊ

केही वर्षदेखि सुस्त रहेको अर्थतन्त्रमा अहिले सुधारका संकेत देखिन सुरु भएको छ । यो वर्षको आठ महिनासम्मका आर्थिक तथा वित्तीय तथ्यांकले सुस्त गतिमा भए पनि सुधार सुरु भएको संकेत गरेका छन् । विदेशी विनिमय सञ्चिति २४ खर्बमाथि पुगेको छ । आठ महिनासम्ममा रेमिटेन्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ आएको छ । चालु खाता १ खर्ब ८० अर्ब ८ करोड र शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब रुपैयाँले बचतमा छन् । चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
वैदेशिक व्यापारमा सुधार हुँदै आएको छ । गत वर्ष फागुनसम्मको तुलनामा यो वर्ष ११.२ प्रतिशतले आयात बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्यातमा उच्चदरको वृद्धि भएको छ । गत वर्ष फागुनसम्ममा ४ प्रतिशतले घटेको निर्यात यो वर्ष ५७.२ प्रतिशतले बढेको छ । फागुनसम्ममा १ खर्ब ५८ अर्ब १७ करोडबराबरको निर्यात भएको छ । फागुनसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पनि ३.७५ प्रतिशत मात्र छ । यसमध्ये पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ ।
अहिलेसम्मको तथ्यांक हेर्दा मौद्रिक नीतिले लक्ष्य गरेभन्दा पनि महँगी कम देखिन्छ । यस्तोमा आन्तरिक माग बढ्न केही हलचल हुनुपर्ने हो । अर्थतन्त्रमा देखिएका यिनै सुधारले होला, यो वर्षको अर्थतन्त्रको वृद्धिदर ४ प्रतिशत हाराहारीमा रहने प्रक्षेपणहरू गरिएका छन् । विश्व बैंक, एसियाली विकास बैंक, राष्ट्रिय तथ्यांक कार्यालयलगायतले यस्ता प्रक्षेपण गरिरहेका छन् । ४ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर साह्रै सानो होइन । यो ४ प्रतिशत हाराहारीको अर्थतन्त्रको वृद्धिले अहिलेको सुस्त अर्थतन्त्रमा ठूलो हलचल ल्याउन सकेको छैन ।
यसको प्रमुख कारण आन्तरिक माग र उत्पादनमा ठूलो सुधार नदेखिनु नै हो । यो वर्ष निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर खासै बढ्न नसकेबाट पनि यो प्रस्ट हुन्छ । यो वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा १२.५ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । फागुनसम्ममा यस्तो कर्जा ६ प्रतिशतले मात्र बढेको छ । यो भनेको निजी क्षेत्र अझै पनि लगानी गर्ने मुडमा देखिएको छैन भन्ने हो । तर पछिल्ला दुई वर्षका तुलनामा भने बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा केही बढेको भने पक्कै हो । बढ्ने गति सुस्त छ । यस्तो गतिले देशले चाहेजस्तो गरी अर्थतन्त्रमा हलचल ल्याउन पक्कै सक्दैन ।
हामीलाई अहिलेको समस्याबाट पार पाउन माग बढेर आन्तरिक उत्पादनमा वृद्धि हुनैपर्छ । उद्योग व्यवसाय चल्न थाले भने सर्वसाधारणले रोजगारी पाउने अवसर पनि बढ्छ । यो चैतमा झनै कर्जा प्रवाह बढेको छैन । चैतका तीन सातामा कर्जा प्रवाह जम्मा १७ अर्ब मात्र भएको छ । यो ज्यादै सानो रकम हो । एकाध ठूला आयोजनाहरूले नै यति रकम बराबर कर्जा लिनुपर्ने हो । यही अवधिमा निक्षेप भने ५२ अर्ब रुपैयाँ हाराहारीले बढेको छ । गत वर्षको चैतमा निक्षेप घट्ने र कर्जा बढ्ने गरेकोमा यो चैतमा भने यसको उल्टो अवस्था सिर्जना भएको छ ।
अर्कातिर पछिल्लो समय ऋण लिन ब्याजदर निकै न्यून अवस्थामा पुगेको छ । तर पनि त्यसको प्रभाव कर्जा विस्तारमा देखिएको छैन । बैंकहरूले गत पुसदेखि नै ब्याजदर घटाउन छाडेका छन् । पुस, माघ, फागुन हुँदै चैतमा पनि ब्याजदर स्थिर रहेको छ । फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको थियो । फागुनमा भने निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत थियो । अहिले बैंकहरूको आधार दर घट्दै गएको छ, जसले कर्जाको ब्याजदर पनि घटाउँदै लगेको छ ।
ब्याजदर घट्ने तर यसको प्रभाव कर्जा विस्तारमा देखिएको अनौठो विषय बनेको छ । हुन त अहिले कर्जाको दोस्रो किस्ता बुझाउने समय परेको छ । यसले पनि अन्य महिनाका तुलनामा कर्जा प्रवाहमा केही कमी आउनु स्वाभाविक हो । खासमा सर्वसाधारणका हातमा पैसा नपरेसम्म आन्तरिक माग बढ्नेछैन । यसैले थोरै जोखिम उठाएर भए पनि निजी क्षेत्रले कर्जा लिनैपर्छ । कर्जा नबढाएसम्म अहिलेको अवस्था फेरिन धेरै समय लाग्नेछ ।