एक वर्षमा ३१ प्रतिशत बढ्यो सेयर

काठमाडौं– २०८१ सालमा सेयर बजार ३१ प्रतिशतले वृद्धि भएको छ । बजारमा सुस्तता छाइरहे पनि समय–समयमा भएको वृद्धिका कारण वर्षभरमा वृद्धि देखिएको हो ।
२०८१ को पहिलो दिन २०२३ विन्दुमा रहेको सेयर बजार अन्तिम दिन २६६२ विन्दुमा पुगेको छ । ब्याजदर घट्दो क्रममा रहनु र तरलता प्रशस्त रहनुले यो वर्ष सेयर बजारलाई सहज बनाएको हो । वर्षको सुरुवातदेखि नै सेयर धितो कर्जा बढेको थियो । समय–समयमा भएका नीतिगत लचकताले सेयर बजारमा माहोल सकारात्मक बनाउँदै जाँदा लगानीकर्ता पनि सक्रिय भएका थिए ।
असार र साउनमा सेयर बजार उत्साहजनक रुपमा बढ्यो । असार १६ देखि ३१ सम्ममा सेयर बजार निकै बढेको थियो । असार १६ मा २०३७ विन्दुमा रहेको नेप्से परिसूचक ३१ गते ३ हजार अंकमा पुगेको थियो । त्यसपछि भने बजारमा उतारचढाव कायमै रह्यो ।
समूहगत रुपमा २०८१ मा वाणिज्य बैंक समूह २७.६ प्रतिशत, विकास बैंक समूह ३५ प्रतिशत, वित्त समूह २३.४१ प्रतिशत, लघुवित्त समूह १९.४२ प्रतिशत, जलविद्युत समूह ४०.८ प्रतिशत, जीवन बीमा समूह २९ प्रतिशत, निर्जीवन बीमा समूह १७ प्रतिशत, अन्य समूह ४४ प्रतिशत, लगानी समूह ४८ प्रतिशत, कारोबार समूह ६४ प्रतिशत, उत्पादन समूह ७ प्रतिशत, होटल्स समूह २५ प्रतिशत र म्यूचूअल फण्ड ६.९ प्रतिशतले बढेको छ ।
यसबीचमा लगानीकर्तालाई सेयर बजारले मनग्य आर्जन गर्न सक्ने सम्भावना दिएको जानकारहरु बताउँछन् । २०८१ मा नेप्सेमा हालसम्मकै उच्च ३१ अर्ब रुपैयाँ हाराहारीको दैनिक सेयर कारोबार भयो । यस्तै, बजार पुँजीकरणले पनि नयाँ रेकर्ड बनाउन सफल भयो । २०८१ वैशाख २ गते ३२ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ कुल सेयर बजार पुँजीकरण रहेकोमा २०८१ चैत ३१ मा ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेसँगै लगानीकर्तामा एक किसिमको उत्साह पलाएको थियो । त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ता झनै उत्साहित भएका थिए । यद्यपि, त्यसको प्रभाव भने दिगो रहन नसकेको लगानीकर्ताको बुझाइ छ । यसबाहेक सेयर बजारलाई प्रभाव पार्ने कसिला केही नीतिहरूमा केन्द्रीय बैंकले लचकता अपनाएको छ । जसकारण सेयर बजारमा केही सकारात्मक प्रभाव परेको छ । २०८१ साल सेयर बजारका लागि यसकारण पनि सुखद् रह्यो कि बैंकमा लगानीयोग्य रकम (तरलता) प्रशस्त रह्यो । यसकारण ब्याजदर निरन्तर घट्यो । बैंकहरूले सेयर कर्जा पनि बढाउँदै लगे । त्यसले लगानीका लागि सहज परिस्थिति बनेको लगानीकर्ता बताउँछन् ।
कस्तो रहला २०८२ ?
२०८१ सालमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । यही वर्षको चैत अन्तिमसम्ममा गभर्नर नियुक्ति हुनुपर्नेमा केही लम्बिएको छ । २०८२ को सुरुवातमै मुलुकले राष्ट्र बैंकको १८ औं गभर्नर पाउनेछ । यो वर्ष अर्थतन्त्र पनि क्रमशः सुधार हुँदै जाने अपेक्षा गरिएको छ । साथै नीतिगत सहजीकरणको सिलसिला पनि जारी रहने लगानीकर्ताको बुझाइ छ । यी विभिन्न कारणले २०८२ मा सेयर बजारले नयाँ उचाइ छुने उनीहरुको अपेक्षा छ ।