पर्यटक बढाउन २०९ किलोको घण्टी

जुम्ला– पातारासीलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पातारासी गाउँपालिका–६ घोडेसिन गाउँका युवा जुटेका छन् । स्थानीय युवाको सक्रियतामा घाडेसिन गाउँको सिरानमा अवस्थित नौमुडे बोबाको मन्दिरमा कर्णालीकै ठूलो दाबी गरिएको २०९ किलोको घण्टी राखिएको छ ।
घाडेसिनलाई पर्यटकीय गाउँ बनाउन तथा धार्मिक–ऐतिहासिक महत्व जगेर्ना गर्न युवाको सक्रियतामा सहयोग संकलन गरी प्रसिद्ध घण्ट राखिएको युवा ऐनबहादुर कठायतले बताए । ‘पञ्चधातुबाट २०९ किलो तौलको घण्टी प्रतिस्थापना कर्णालीमा पहिलो हो,’ उनले भने, ‘मन्दिरमा घण्टी प्रतिस्थापनपछि धार्मिक पर्यटकको आकर्षण बढेको छ । मन्दिरको आकर्षण नै घण्ट बनेको छ । यसले मन्दिरको प्रचार भएर घोडेसिन गाउँ आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्ने अपेक्षा लिएका छौं ।’
हरेक वर्षको चैते दसैं अष्टमीमा भव्य पूजा र मेला लाग्ने यो मन्दिरको पूजा पञ्चायतकालमा सरकारी तवरबाटै हुन्थ्यो । अहिले पनि सरकारी पक्षबाट नेपाली सेनाले बेला पूजा सामग्री पठाउँछ । जुम्ला बजारदेखि पातारासीको घोडेसिनसम्म गरिएको घण्टीको महायात्रामा नेपाली सेनासहित पातारासीका सयौंं स्थानीयको सहभागिता थियो ।
पञ्चधातुबाट निर्माण गरिएको २०९ किलोको घण्टी ६ लाख ११ हजार रुपैयाँ खर्चेर बनाइएको हो । यो रकम पातारासी–६ घोडेसिनका स्थानीयबाट स्वेच्छिक संकलन गरिएको हो । अधिकांश विदेशबाट सहयोग आएको छ । जागिर खानका लागि वा वैदेशिक रोजगारीमा जाँदा राम्रो काम पाइयोस् भनेर मन्दिरमा वर माग्ने र पूरा पनि हुने जनविश्वास छ ।
यो मन्दिरलाई पञ्चायतकालमा कोट नागरिकको न्यायालय भन्ने गरिएको थियो, जहाँ पीडामा परेका स्थानीय मन्दिरमै न्यायको याचनासमेत गर्थे । तर, बाइसे–चौबिसे राज्यको पतनपछि घोडासिनका स्थानीय नौमुडे मन्दिरको प्रवद्र्धनमा जुटेपछि धार्मिक पर्यटनको सम्भावना बढेको पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहोरा बताउँछन् । उनले भने, ‘पातारासी कृषि पर्यटनको उर्वरभूमि हो । हामीले पर्यटनबाटै बढी लाभ लिन सक्छौं । जुम्लामा मष्टो परम्परा पनि पर्यटनको आधार हो । त्यसमा पनि घोडेसिन मन्दिरमा गखिएको २०९ किलोको घण्टीले थप सम्भवना बढाएको छ । यसले गाउँको विकासमा टेवा पुर्याउने विश्वास छ । पालिकाले सक्ने सहयोग गर्छ । युवाको सक्रियता प्रसंशायोग्य छ ।’
नौमुडे मन्दिरमा पहिले चन्दननाथ नगरपालिका–३ सिमखाडाका पण्डितले पूजापाठ गर्थे । त्यतिबेला पञ्चायत सरकारले नै मन्दिरको पुजारी तोकेको थियो । पातारासी गाउँपालिकाकी उपाध्याक्ष जनमाया रोकायाले पातारासीलाई धार्मिक, कृषि तथा पर्यापर्यटनका रूपमा विकास गर्न युवाको सक्रियताले पालिकालाई जिम्मेवार बनाएको बताइन् । घोडेसिन गाउँको नौमुडे बोबाको मन्दिरमा २०९ किलोको घण्टी राखेपछि चर्चामा आएको र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासमा पालिकाले सहयोग गर्ने उनले उल्लेख गरिन् ।
देशकै ठूलो ताल तथा उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुस्थित राराताल जाने छोटो सडक मार्ग घोडसिन गाउँबाटै पर्ने भएकाले रारा जाने पर्यटकलाई नौमुडे मन्दिर दर्शनको वातावरण बनाउने गरी पूर्वाधार बनाउनुपर्ने स्थानीयको माग छ । जुम्ला एयरपोर्ट–उर्थुचौतारा–पटमारा–खाली–न्याउरीघाट भूलभूले सडक राराताल जाने निकै छोटो सडक हो । अधिकांश पर्यटक नाग्म हुँदै रारा पुगेर भूलभूले न्याउरीबाट भएर जुम्ला पुगेर फर्किने गरेका छन् । त्यही बाटो आउने पर्यटकलाई घोडेसिन गाउँको नौमुडे मन्दिरबारे प्रचारप्रसार र आवश्यक पूर्वाधार (पदमार्ग, अभिलेख, खानेपानी, साइन बोर्ड राख्ने, ब्रोसर बनाउने) काममा पालिकाले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।