बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अभिमुखिकरण

महेन्द्रनगर– कञ्चनपुरको सीमावर्ती जिल्लाका बैंक, वित्तीय संस्था र सहकारी संस्थाका कर्मचारीलाई नक्कली नोट पहिचानका लागि अभिमुखिकरण गराइएको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले कञ्चनपुरका बैंक तथा वित्तीय संस्था र सहकारीका कर्मचारीलाई नक्कली नोट पहिचान सम्बन्धी अभिमुखिकरण गराएको हो ।
राष्ट्र बैंकले महेन्द्रनगरमा जिल्लाका विभिन्न बैंक, वित्तीय संस्था र सहकारीका कर्मचारीलाई ‘शंकास्पद विदेशी मुद्रा पहिचान बैंकिङ कारोबार सञ्चालन नोट सर्टिङ तथा जाली नोट पहिचान सम्बन्धी अभिमुखिकरण गराएको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका सहायक निर्देशक अर्जुन धामीले पछिल्ला वर्षहरुमा नक्कली नोट देखिएकाले समयमै बैंक तथा वित्तीय संस्थालाई सचेत गराउने उद्देश्यका साथ अभिमुखिकरण गराएको बताए ।
‘अहिले वित्तीय क्षेत्रमा संवेदनसिल चुनौती देखिएका छन्’ ‘उनले भने, ‘नोटको कारोबार हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीले नक्कली नोट पहिचान गर्न सके वित्तीय अपराध रोकिन्छ ।’ भारतसँग सीमावर्ती रहेको कञ्चनपुरमा समेत जोखिम भएकाले समयमै यसबारे सरोकारवालालाई जानकारी गराएको उनले बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप–निर्देशक माधवप्रसाद पोखरेलले वैदेशिक मुद्रा, डलरमा समेत जोखिम भएकाले त्यसको समयमै पहिचान गर्नसके नक्कली नोटको अवैध कारोबार रोक्न सकिने बताए । उप–निर्देशक पोखरेलले यसका लागि सेवा प्रदायक संघ संस्था सरोकारवाला समयमै सचेत हुनुपर्नेमाजोड दिए । ‘संसारभरि सबैभन्दा बढि अमेरिकी डलरकोे कारोबार हुन्छ’ उनले भने, ‘यसमा बैंकले डलर सटही गर्दासमेत ध्यानु दिनुपर्ने हुन्छ ।’
राष्ट्र बैंक केन्द्रीय कार्यालय मुद्रा व्यवस्थापन विभागका सहायक प्रबन्धक समुद्र सापकोटाले नक्कली सक्कली नोट पहिचान सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीलाई सक्कली नोटका फिचरबारे पर्याप्त जानकारी दिनुपर्ने बताए । ‘हामीले वास्तविक नोटका सबै फिचरबारे पूर्व जानकारी पाए नक्कली नोट पहिचानमा समस्या हुँदैन’ उनले भने, ‘बैंकमा नक्कली नोट आएपछि नियन्त्रणमा सहज हुन्छ भने, जोखिमबाट बाँच्न सकिन्छ ।’