सहिदमार्गमा जोखिम कायमै

रोल्पा– दाङको घोराहीदेखि रोल्पा हुँदै रुकुमसम्म जोडिएको सहिदमार्ग समयमै स्तरोन्नति नहुँदा रोल्पा र रुकुमका नागरिकले सास्ती पाउँदै आएका छन् । सहिदमार्गको काम समयमै सम्पन्न हुन नसक्दा यो सडकमा नागरिकले सधै सास्ती खेपिरहेका छन् । पछिल्लो समय सहिदमार्गलाई मृत्युमार्गको उपमा दिन थालिएको छ । समयमै स्तरोन्नति नहुँदा सवारी दुर्घटनाका घट्ना बढ्दै जाँदा सहिदमार्गलाई मृत्युमार्गसमेत भन्न थालिएको हो ।
प्राय: हिउँदको समयमा धुलाम्य र बर्खामा हिलाम्य हुने सहिदमार्गको अवस्था सुधार हुन सकेको छैन । हरेक वर्ष संघ र प्रदेश सरकारले सहिदमार्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम बनाए पनि बजेटमा सधै सहिदमार्ग उपेक्षामा पर्दै आएको छ । जसका कारण सहिदमार्गको काम सुरु भएको लामो समयसम्म पनि नागरिकले सास्ती नै सास्ती भोगिरहेका छन् । विसं २०६४/०६५ बाट निर्माणको काम सुरु गरिएको सहिदमार्गको काम हालसम्म पनि सकिएको छैन ।
सहिदमार्ग निर्माण गर्दाको समयदेखि हालसम्म धेरै व्यक्तिले सवारी दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् । तर पनि सहिदमार्गको समयमै काम हुन नसक्दा उक्त मार्गले सहिदहरूलाई गिज्याइरहेको छ । माओवादीले सुरु गरेको तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वको नामबाट नामकरण गरिएको सहिदमार्गको अवस्था सहिदजस्तै बनेको माडी गाउँपालिकाका स्थानीय दलवीर बुढा बताउँछन् ।
‘सहिदमार्ग, सहिदमार्ग भन्दै प्रत्येक चुनावमा यहाँका नेतालाई भोट माग्ने आधार बनेको छ, सहिदमार्ग,’ उनले भने, ‘रोल्पाली जनता जोखिम मोलेरै सहिदमार्गको यात्रा गर्न बाध्य छन्, ३–४ घण्टामै पुगिने बाटोमा ७–८ घण्टाको कठिन यात्रापछि गन्तव्यमा पुगिनुपर्ने अवस्था छ, सहिदमार्गमा हामीले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ?’ उनले भने । सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पा र एकमात्र हिमाली जिल्ला रुकुमपूर्वको लाइफलाइनको रूपमा हेरिएको उक्त सडक दाङको घोराहीदेखि रुकुमपूर्वको तकसेरा मैकोटसम्म २२० किलोमिटर रहेको छ । जसलाई सरकारले दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुम पूर्वको तकसेरा–मैकोट हुँदै डोल्पासम्म जोड्ने लक्ष्य राखेको छ ।
शान्ति प्रक्रियापछि सहिदमार्गको कामले गति लिने अपेक्षा राखिए पनि हालसम्म धेरै परिवर्तन हुन नसकेको स्थानीय बताउँछन् । दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै पूर्वी रुकुमसम्म जोडिएको सहिदमार्गको थोरै खण्ड मात्र कालोेपत्रे छ । सहिदमार्गको अधिकांश भाग कच्ची नै छ । सहिदमार्ग अन्तर्गत दाङको घोराही–होलेरी खण्डको सडकमा कालेपत्रे भए पनि कालोपत्रे गरिएको सडकमा अहिले कालोपत्रेको नामोनिसान छैन ।
कालोपत्रे उप्किएर उक्त भागमा पनि अहिले नागरिकले हिउँदमा धुलाम्य र बर्खाको समयमा हिलाम्य यात्रा गर्न बाध्य छन् । कमसल कालोपत्रे र सिमेन्ट उद्योगका टिप्परले सडकको भारवहन क्षमताभन्दा बढी चुनढुंगा ओसार्न थालेपछि सडकमा कालोपत्रे उप्किएको स्थानीय बताउँछन् ।
हिउँदमा धुलोको कारणले सहिदमार्गमा नागरिकले सास्ती खेप्नुपर्दछ भने बर्खायाममा सडक भत्किने, पहिरो जाने, सडकमा पानि जम्मा भएर गाडीहरू फस्ने समस्या हुनाले वर्षायाममा सवारी आवागमन कठिन हुने गर्दछ । पश्चिम रोल्पालीको जनजीवनलाई सहज बनाउने मुख्य लाइफलाइनको रूपमा रहेको सडक नै समयमै निर्माण सम्पन्न नहुँदा नागरिकले सास्ती नै सास्ती खेपिरहेका छन् ।