Logo

रंगशाला निर्माणको भौतिक प्रगति ४० प्रतिशत

जुम्ला– कर्णाली प्रदेशको जुम्लामा निर्माणाधीन रंगशालाको भौतिक प्रगति ४० प्रतिशतमात्रै भएको पाइएको छ । जुम्लामा रंगशाला निर्माण सुरु भएको करिब दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति ४० प्रतिशतमात्रै भएको छ । चन्दननाथ नगरपालिका–५ स्थित राजसिममा रंगशाला निर्माण कार्य २०८० वैशाख ५ गतेबाट सुरु भएको थियो । सम्झौतानुसार रंगशाला निर्माणको काम ०८२ को भदौ मसान्तसम्म सम्पन्न भइसक्नु पर्नेछ ।

निर्माण सम्पन्न गर्नुपर्ने मिति नजिकिँदै गर्दा रंगशाला निर्माणको भौतिक प्रगति भने ४० प्रतिशतमात्रै हुनुले निर्माण कार्य सुस्त गतिमा भइरहेको देखिन्छ । रंगशालाको प्याराफिट, तलको भवन र मैदान सम्याउने काम भइरहेको छ । दुई वर्षभित्र निर्माणकार्य सक्ने गरी रंगशाला लगायतका अन्य संरचना निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले ४० करोड ६२ लाख लागतमा रंगशालासहित सडक कालोपत्रे, व्यावसायिक भवन निर्माणका लागि ठेक्का खोलेको थियो ।

ठेक्का आह्वानपछि निर्माणको जिम्मा ‘कवीन्द्र निर्माण सेवा’ले पाएको थियो । उक्त निर्माण कम्पन्नीले निर्माण सुरु भएको करिब दुई वर्ष पुग्न लागिसक्दा पनि ४० प्रतिशत भौतिक प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए । ४० करोड ६२ लाख लगानीमा रंगशालासहित नगरपालिका क्षेत्रमा भवन, सडक कालोपत्रेका काम भइरहेका छन् ।

उनले भने, ‘सबै संरचनामध्ये रंगशाला निर्माणकार्य ४० प्रतिशत र वित्तीय प्रगति २२.३८ प्रतिशत भएको छ भने अन्य संरचना निर्माण अन्तिम अवस्थामा छन् । सम्पन्न गर्नुपर्ने समय नजिकिए पनि गर्नुपर्ने काम धेरै नै बाँकी छ । निर्माण व्यवसायीले काम गरिरहेकै छ ।’ हालसम्म रंगशालासहितका अन्य संरचनाको गरी कुल आठ करोड ४ लाख रुपैयाँ भुक्तानी भएको सूचना अधिकारी खड्काले जानकारी दिए । अझै ३२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । जसमा रंगशाला निर्माणको बजेटमात्रै १३ करोड रहेकोमा सबैभन्दा बढी हिस्सा भुक्तानी बाँकी रंगशालाकै रहेको देखिन्छ ।

४० करोड बजेटअन्तर्गत चन्दननाथ नगरपालिका परिसरमा व्यावसायिक प्रयोजनका लागि पक्की भवन निर्माण सम्पन्न भइसकेका छन् । ४० करोड लगानीमा दुई वर्षभित्र निर्माण हुने अत्याधुनिक रंगशालाभित्र अन्य ११ वटा संचरना निर्माण हुनेछन् । बाहिर निर्माण हुने अन्य संचरनाले खेल क्षेत्रकै विकासमा जोड दिनेछ । यस्तै, रानीताल पार्क बनाइने छ भने चन्दननाथ–८ को पक्की वडा कार्यालय भवन र जुम्ला बजारमा कटिङ ढुंगा छाप्ने काम पनि अघि बढेको छ ।

कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रंगशालासँगसँगै निर्माण हुने आयोजना कार्यालयले जानकारी दिएको छ । स्थानीय खेलाडीका समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक्त रंगशाला निर्माण सुरु भएपछि यहाँका खेलाडी उत्साहित छन् ।

अहिले जिल्लास्तरमा कुनै खेलको आयोजना गर्दा नेपाली सेनाको खेल मैदान माग्नु पर्ने बाध्यता र नदिएपछि आयोजना नै रद्द हुने अवस्था छ । रंगशाला अभावमा खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ पनि छैन । एकातिर खेल क्षेत्रमा बढ्दो सम्भावना र अर्कोतिर खेल पूर्वाधारको अभावले खेलाडी खुम्चिनु पर्ने स्थिति रहेकाले रंगशाला निर्माण कार्यालयको विशेष प्रथामिकतामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले जनाएको छ ।

सुस्त गतिमा भए पनि बजारमा रंगशाला निर्माण अघि बढिरहेको छ । तर पातारासीमा निर्माण हुने भनिएको हाइअल्टिच्युट टेर्निङ सेन्टर भने आठ वर्षदेखि अलपत्र रहेको छ । चालु आवमा ६ करोड २९ करोड बजेट विनियोजन भए पनि वडाध्यक्ष र गाउँपालिका अध्यक्षको आन्तरिक द्वन्द्वले बजेट नै फ्रिज हुने देखिएको छ । संघीय सरकारले दुई करोड सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय र चार करोड २९ लाख खेलकुद परिषद्मा विनियोजन भएको छ । दुवै कार्यालयमा विनियोजित बजेट फ्रिज खतरा बढेको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी खड्काले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्