अघोषित लोडसेडिङले उद्योगको उत्पादन घट्यो

वीरगन्ज– अघोषित लोडसेडिङले उद्योगको उत्पादन घटेको व्यवसायीहरूले बताएका छन् । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा गरिरहेको अघोषित लोडसेडिङ र बिना सूचना विद्युत कटौतीले उत्पादन घटेको उद्योगीहरूले बताएका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघले आइतबार विज्ञप्ति जारी गर्दै विद्युतको नियमित आपूर्ति नहुँदा कोरिडोरका उद्योगहरू आफ्नो क्षमताभन्दा निकै कम क्षमतामा सञ्चालन भइरहेको जनाएको छ ।
प्राधिकरणले ५–६ वर्षअघि घोषणा गरेको ‘लोडसेडिङमुक्त औद्योगिक क्षेत्र’ र ‘उज्यालो नेपाल’ को नारा विपरीत पछिल्ला दिनहरूमा विद्युत कटौती बढ्दै गएको छ । गुणस्तरीय विद्युत आपूर्तिको अभावले उद्योगका उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परेको उद्योगीहरूले बताएका छन् । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरू विभिन्न समस्यासँग जुधिरहेकै बेला विद्युत कटौतीको समस्या थपिएपछि उद्योगीहरू थप मर्कामा परेको संघका अध्यक्ष हरि गौतमले बताए ।
विद्युत कटौतीको समयमा डिजेल जेनेरेटर चलाउँदा उत्पादन लागत बढ्न गई उद्योगहरूले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएको उनको भनाइ छ । साना उद्योगहरू डिजेल जेनेरेटर चलाउन सक्ने अवस्थामा नभएकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४–१५ पटकसम्म ट्रिपिङ हुने गरेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरू नोक्सान भइरहेको अधिकांश उद्योगी व्यवसायीहरूको गुनासो छ ।
यो समस्याको समाधानका लागि लोडसेडिङको निश्चित समयावधि तोकी बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्नुपर्ने संघको माग छ । साथै, हिउँदको मौसममा प्रत्येक वर्ष विद्युत आपूर्तिमा समस्या आइरहेकोले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पनि संघले आग्रह गरेको छ । उद्योगहरूबाट खपत भएको विद्युत महसुल जुन किसिमले प्राधिकरणले असुल गर्छ, सोही अनुसारको गुणस्तरीय विद्युत आपूर्ति गर्नुपर्ने धारणा संघको रहेको छ ।
विद्यमान जटिल समस्या र अन्योलपूर्ण अवस्थाको तत्काल निराकरण गर्न संघले सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराएको छ । साथै, समस्याको समाधानका लागि वैकल्पिक व्यवस्था गर्न प्राधिकरणसँग संघले माग गरेको छ । लोडसेडिङ समस्या लम्बिएमा औद्योगिक उत्पादनमा गम्भीर असर पर्ने र यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने संघको चेतावनी छ ।