भैरहवाबाट पुन: अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन माग

बुटवल– हवाई नीति परिवर्तन गरी भैरहवाबाट पुन: अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा लुम्बिनीले बुटवलमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरूले पर्यटन र उड्डयन सम्बन्धी नीति समयसापेक्ष र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले सरकारले हवाई नीति परिवर्तन गर्नु आवश्यक रहेको बताए । ‘हवाई नीति संशोधन गर्नुपर्छ । संशोधित हवाई नीतिलाई आगामी बजेट तथा नीति कार्यक्रममा समेट्नुपर्छ’ उनले भने, ‘हवाई नीतिमा भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहित गर्नुपर्छ । बुद्धिष्ट मुलुक, श्रम गन्तव्यका देशमा उडान हुने न्यारोबडी जहाजलाई भैरहवा वेस गराउनुपर्छ ।’
अध्यक्ष थापाले डिजिटल माध्यममार्फत विभिन्न संस्थाले अनधिकृत रूपमा हवाई टिकट बिक्री गर्ने गरेको भन्दै त्यसलाई रोक्ने पर्ने बताए । पर्यटन डिभिजन कार्यालय भैरहवाका प्रमुख नेत्रप्रसाद भुसालले आफ्नो कार्यालयबाट पर्यटन प्रशासन सम्बन्धी काममा सहज ढंगले सेवा दिने प्रतिबद्धता व्यक्त गरे । पर्यटन व्यवसायीका कतिपय समस्या सुनवाइको लागि नियमावली संशोधनको तर्जुमा गरिएको उनले जानकारी दिए ।
‘नियमावली संशोधनको तर्जुमा गरेर मन्त्रालयबाट पठाएको हो । आर्थिक मामिलामा गएको छ । त्यहाँबाट अनुमति नभएकाले अगाडि बढ्न सकेको छैन’ उनले भने,‘ तपाई पर्यटन व्यवसायीहरूले पनि मुख्यमन्त्रीलाई भेटेरै नियमावली छिटो संशोधनको लागि पहल गरेमा राम्रो हुन्छ ।’ भुसालले व्यवसायहरू समयमा नवीकरण गर्न र नवीकरण नभएका ट्राभल व्यवसायलाई बन्द गर्ने तरिकाले अघि बढ्ने जानकारी दिए ।
नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले अनधिकृत तरिकाले हुने हवाइ टिकट बिक्री रोक्नुपर्ने बताए । उनले अन्य मुलुकको तुलनामा नेपालमा हवाई भाडा महँगो हुने गरेको गुनासो गरे । अधिकारीले भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित हुने निश्चित भएमा ट्राभल व्यवसायीहरूले थप लगानी गर्ने जानकारी दिए ।
कार्यक्रममा नाट्टा लुम्बिनीका प्रथम उपाध्यक्ष कुलचन्द्र पाण्डे, महासचिव सीता बस्याललगायतले आगामी नयाँ वर्ष पर्यटनमैत्री वर्ष बनाउनुपर्ने भन्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा नयाँ वर्ष २०८२ सालको टेबुल क्यालेण्डरसमेत विमोचन गरिएको थियो । क्यालेण्डरमा पर्यटकीय स्थल तथा नाट्टाका गतिविधि सम्बन्धी तस्बिर समावेश गरिएको थियो ।