गाई पालेरै मासिक ४५ हजार आम्दानी

युवाहरू रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दो छ । आफ्नै देशमा श्रम र मेहनत गर्ने युवा थोरै संख्यामा छन् । तर, पछिल्लो समय तेह्रथुमका युवा व्यावसायिक पशुपालन गरी दूध बिक्रीतर्फ आकर्षित हुन थालेका छन् ।
यस्तै युवामध्येका एक हुन छथर गाउँपालिका–१ आङदिमका युद्धलक्ष्मण भट्टराई । उनी बिहानदेखि साँझसम्म पशुपालन व्यवसायमै सक्रिय हुने गरेका छन् । बिहानको समय उनको दैनिकी दूध दुहुनुमै वित्छ । उनले उत्पादित दूध नजिकैको जालपादेवी दुग्ध सहकारीमा पु¥याएर बिक्री गर्ने गरेका छन् । दुई वर्षदेखि गाईपालन गरेका उनले दूध बिक्रीबाटै मासिक ४० देखि ४५ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । २०६९ सालमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे पनि उनले जागिर खानेतर्फ ध्यान दिएनन् । गाउँमै केही गर्ने मनसायले जालपादेवी गाईफर्म दर्ता गरी उनी व्यावसायिक गाईपालनमा संलग्न हुँदै आएका छन् ।
इलामबाट ६ वटा उन्नत जातका गाई ६ लाख रुपैयाँमा खरिद गरी उनले फर्म सुरु गरेका हुन् । उनले होलस्टेन र जर्सी जातका गाई पाल्दै आएका छन । दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्दै आएका उनले दूधका लागि बजारको कुनै समस्या नभएको बताए । “गर्न सके आफ्नै गाउँमा राम्रो आम्दानी लिन सकिन्छ,” उनले भने । दूध बिक्रीबाट परिवार खर्चका चलाएर वार्षिक २ लाख रुपैयाँ बचत हुने गरेको उनले बताए । व्यवसाय सुरु गर्न कृषि विकास बैंक तेह्रथुमबाट ४ लाख रुपैयाँ ऋण लिएका २८ वर्षीय भट्टराई सामाजिक काममा पनि संलग्न हुँदै आएका छन् ।
भट्टराईले फर्म सञ्चालन गर्न ५ रोपनी जमिनमा घाँस लगाएका छन । उनले डुस, नेपियर जेलगायतका घाँस खेती लगाउँदै आएको बताए । फर्म सञ्चालनका लागी जिल्ला पशु सेवा कार्यालयबाट च्याप कटर मेसिन, उन्नति परियोजनाबाट १५ हजार नगदका साथै घाँसका बीउ अनुदान प्राप्त गरेको उनले बताए ।
श्रीमतीले फर्म सञ्चालनका लागी भरपुर सहयोग गर्दै आएकाले उनले अरु कामदार खोज्नु परेको छैन । आफ्नै फर्म आफैं रोजगार बन्दै आएका छन् । कामदारलाई दिने पैसा पनि आफ्नै घरमा बचत हुने भएकाले फर्म सञ्चालनमा समस्या छैन । उनीजस्तै जिल्लाको पश्चिमी क्षेत्रमा व्यवसायिक गाईपालनका लागि फर्म दर्ता गर्नेको संख्या बढ्दै गएको जिल्ला कृषि कार्यालय तेह्रथुमले जनाएको छ । कार्यालयका अनुसार यस क्षेत्रमा मात्र उन्नत जातका गाईपालनका आधा दर्जन फर्म सञ्चालनमा छन् ।
–प्रकाश पाक्साँवा