Logo

मैले देखेको तिब्बतको कृषि

फाइल तस्बिर ।

नेपालको पर्यटन उद्योग तथा अन्तर्राष्ट्रिय यात्रालाई प्रवर्द्धन गर्न समर्पित हिमालय एयरलाइन्सले निर्वाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल विस्तार जारी राखेको छ । ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदान–प्रदानलाई सहज बनाउने र दुवै गन्तव्यमा पर्यटन वृद्धिमा सहयोग गर्ने एयरलाइन्सको प्रतिबद्धतालाई जोड दिन्छ । सोहीअनुरूप हिमालय एयरलाइन्सले ३१ मार्च २०२५ मा ल्हासाबाट पोखरा ऐतिहासिक उडान गर्‍यो ।

उक्त उडानमा यो पंक्तिकार पनि ल्हासाबाट पोखरा विमानस्थलमा अवतरण गरेको थियो । पर्यटकीय दृष्टिकोणले ल्हासा–पोखरा–ल्हासा रुट महत्त्वपूर्ण त छँदै छ, तर यो पंक्तिकार ल्हासामा रहँदा कठिन भूगोल र प्रतिकूल हावापानी भएको तिब्बतको कृषिको अवस्था के छ भन्नेबारेमा जानकारी लिन व्यस्त रहेँ । तिब्बत समुद्र सतहबाट धेरै उचाइमा भएकाले त्यहाँ अक्सिजन निकै कम हुन्छ । यो पठार मरुभूमिजस्तो लाग्ने भूमिमा वर्षा पनि कम हुन्छ । वर्षा हुने ठाउँ पनि उचाइमा पर्ने भएकाले आधा वर्ष हिउँले ढाकिन्छ ।

यस्तो कठिन भूगोलमा बस्ने तिब्बतीको कृषिको अवस्थाबारे बुझ्दै जाँदा कृषिसम्बन्धी धेरै जानकारी पाइयो । बुझ्दै जाँदा लाग्यो कि हामीले तिब्बतमा भएको कृषिको विकासबाट धेरै कुरा सिक्न सक्छौँ । तिब्बतलाई ‘विश्वको छानो’ भनेर चिनिन्छ । तिब्बत अद्भुत प्राकृतिक परिदृश्य, समृद्ध संस्कृति र अद्वितीय कृषि अभ्यासहरूको स्थल रहेछ । उच्च उचाइ, प्रतिकूल मौसम र सीमित खेतीयोग्य जमिन भएको क्षेत्रका रूपमा परिचित तिब्बतमा कृषिमा धेरै विकास भएको देखिन्छ ।

यी कठिनाइका बाबजुद तिब्बतमा किसानले उच्च भूमिमा जौ, गहुँ, आलु, फापर बालीहरू खेती गरेको देखियो । गरा सुधार गरेर खेती गर्ने जमिनलाई फाँटमा परिणत गरेको देखियो, जसले गर्दा यान्त्रीकरण गर्न सहज बनेको छ । भर्खर उम्रिन लागेको जौ बालीका फाँटमा किसानले सिँचाइ र मलको प्रयोग गरिरहेको देखियो । नदी, खोला, खहरे किनाराहरूमा तटबन्ध गरेर जमिन सम्याई ठूला–ठूला फाँटहरू बनाएर गरिरहेको खेतीमा सबैभन्दा बढी जौको खेती रहेछ । जौ तिब्बतीहरूको प्रमुख आहारसमेत रहेछ ।

आफ्नो ठाउँमा जे फल्छ, त्यही प्रमुख अनाजको रूपमा प्रयोग गर्नु तिब्बतीहरूको संस्कार रहेछ । जौको सातु, छ्याङ र जौको ब्रेडका परिकारहरू त्यहाँ सबैभन्दा बढी प्रयोग गरिँदो रहेछ । माटोको उर्वरता कायम राख्न किसानले प्राय: जौ, फापर, आलु, गहुँसँग घुम्ती बालीको रूपमा पनि प्रयोग गर्दा रहेछन् । केही समुदायले खेतीबालीमा ध्यान केन्द्रित गरेका रहेछन् भने केहीले पशुपालनमा ध्यान केन्द्रित गरेका रहेछन् । तिब्बतमा कृषि बाली मात्र होइन, पशुधन पनि उत्तिकै महत्त्वपूर्ण रहेछ । मासु, दूध र ऊनका लागि याक, चौँरी, च्याङ्ग्राका ठूला–ठूला बथानहरू घुमन्ते अभ्यास गर्ने चलन पनि व्यापक रहेछ ।

तिब्बतको कृषिको विकासमा त्यहाँको सरकार परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर आफ्नो जनसंख्यालाई खुवाउन, आफ्नो पहिचानको संरक्षण गर्न र कृषि उपजको निर्यात गर्न सक्षम भएको छ । बढ्दो वातावरणीय र सामाजिक समस्यासँग जुधिरहेको विश्वले तिब्बती कृषिबाट धेरै कुरा सिक्न सक्छ ।

विगतमा याक, चौँरी, च्याङ्ग्राहरू ढुवानीका लागि प्रयोग गरिथ्यो भने यातायातको विकास र सहरीकरणले गर्दा याक, चौँरी, च्याङ्ग्रालाई यातायातको सुविधा राम्रो नपुगेको ठाउँमा मात्र ढुवानीका लागि प्रयोग गरिँदो रहेछ । आफ्नो बथानलाई मौसमी रूपमा चराउन लैजानेहरूको पनि ठूलै जमात हुँदो रहेछ । हालैका वर्षहरूमा तिब्बतको कृषिलाई आधुनिकीकरण गर्न चिनियाँ सरकारले ठूलो लगानी गरेको रहेछ । प्रतिकूल मौसममा पनि खेती गर्न ठाउँ–ठाउँमा ठूला–ठूला ग्रिनहाउसहरू बनाइएको रहेछ ।

ग्रामीण सडक र सिँचाइ प्रणालीमा धेरै लगानी गरिएको रहेछ । उन्नत जातको बीउ प्रयोग गरिने भएकाले उत्पादकत्व बढेको रहेछ । ई–वाणिज्य प्लेटफर्मको राम्रो विकास गरिएकाले किसानलाई उनीहरूको उत्पादन बेच्न मद्दत गर्दा रहेछन् । यी प्रगतिले आधुनिक खेती अभ्यासमार्फत खाद्य सुरक्षा र आम्दानीमा सुधार भएको रहेछ । भर्खरै उम्रिन लागेको जौका फाँटमा किसानले सिँचाइ र मलको प्रयोग गरिरहेको देखेर खेतमै गएर बुझ्दा किसानले रासायनिक मलको प्रयोग त गर्दा रहेछन्, तर रासायनिक मलको अत्यधिक प्रयोगबाट जोगिन, जैविक मलमा समेत भर परेको देखियो ।

तिब्बतको कृषिले यसको जनसंख्यालाई दिगो बनाउन, परम्परागत अभ्यासको संरक्षण गर्न र चीनको खाद्य सुरक्षा लक्ष्यमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको रहेछ । यद्यपि, यस क्षेत्रको अनुपम भौगोलिक र हावापानी परिस्थितिले कृषि विकासका लागि चुनौती र अवसरहरू छन् । तिब्बतका केही भागमा उर्वर उपत्यकाहरू जस्तै यार्लुङ, साङ्पो नदी उपत्यका र नदी किनाराहरू रहेछन्, जुन कृषिका लागि उपयुक्त थलो मानिँदो रहेछ । यस क्षेत्रका किसान आफ्ना बालीमा हिमनदीबाट पग्लने पानीले सिँचाइ गर्दा रहेछन् ।

माटो संरक्षण गर्न र दुर्लभ जलस्रोतको कुशलतापूर्वक व्यवस्थापन गर्न तिब्बतीहरू सिपालु रहेछन् । माटो र पानीको क्षय रोक्न पहाडका खोँचहरूमा समेत पर्खाल र बोटबिरुवाहरू लगाएको देखियो । हालैका दशकहरूमा चिनियाँ सरकारले तिब्बतमा कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यले विभिन्न नीति र पहलहरू लागू गरेको रहेछ । यी प्रयासमा पूर्वाधारमा लगानी, प्रविधि हस्तान्तरण र किसानका लागि अनुदानहरू समावेश रहेछन् । सुधारिएको सडक सञ्जाल र विद्युतीकरण परियोजनाले ग्रामीण समुदाय र सहरी बजारबीचको सम्पर्क बढाएको छ, जसले कृषि उत्पादनको वितरणलाई सहज बनाएको रहेछ ।

विशेष गरी हरितगृह खेतीले प्रतिकूल मौसमका बाबजुद किसानलाई वर्षभरि तरकारी खेती गरी विविध आहार र आयातित उत्पादनहरूमा निर्भरता घटाएको रहेछ । सरकारले दिगो विकास सुनिश्चित गर्न वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गरेको रहेछ । माटो तथा वनजंगलको संरक्षण र जलाधार व्यवस्थापनमा केन्द्रित कार्यक्रमहरूले कृषि विकासलाई जोड दिएको रहेछ । तिब्बतीहरूले आफ्नो खेती र पशुपालनलाई आफ्नो धर्म र संस्कृतिसँग गहिरै जोडेका छन् । उनीहरू प्रकृतिलाई पवित्र मान्छन् र आफ्नो कृषिको प्रत्येक कार्यलाई धार्मिक प्रार्थनासँग जोडेर गर्छन् ।

यस्तो परम्पराले तिब्बतीहरूलाई प्रकृतिसँग नजिकै राख्छ र उनीहरूले प्रकृतिका स्रोतहरूलाई संरक्षण गर्ने प्रयास गर्छन् । कृषि विज्ञहरूसमेत कृषिकर्ममा लागेका रहेछन् । तिब्बतमा कृषि विकासका लागि महत्त्वपूर्ण कामहरू भएका रहेछन् । खडेरी–प्रतिरोधी र चिसो–सहनशील प्रजातिहरूको अनुसन्धानले तिब्बतको कृषिमा क्रान्ति ल्याउन सफल भएको रहेछ । कृषि पर्यटन पहल र सांस्कृतिक आदानप्रदानले तिब्बती परम्पराको जागरुकता बढाउँदै ग्रामीण परिवारका लागि थप आय उत्पन्न गर्न सक्षम भएको छ ।

यसबाहेक शिक्षा र क्षमता निर्माणमा बढेको लगानीले किसानलाई परिवर्तनशील संसारमा फस्टाउन आवश्यक सीप प्रदान गरेको छ । कृषिमा अनुदान, ऋण र बजार जानकारीको पहुँचले तिब्बतीहरूलाई आफ्नो व्यवसाय सञ्चालन, विस्तार र जीविकोपार्जनमा सुधार गर्न सक्षम बनाएको छ । तिब्बतको कृषिको विकासमा त्यहाँको सरकार परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर आफ्नो जनसंख्यालाई खुवाउन, आफ्नो पहिचानको संरक्षण गर्न र कृषि उपजको निर्यात गर्न सक्षम भएको छ ।

बढ्दो वातावरणीय र सामाजिक समस्यासँग जुधिरहेको विश्वले तिब्बती कृषिबाट धेरै कुरा सिक्न सक्छ । तिब्बतको कृषि मानव अनुकूलता र प्रकृतिसँग मेलमिलापको प्रमाण हो । तिब्बतको कृषि एउटा विकसित प्रणाली हो, जसले वातावरणीय चुनौतीसँग सामना गर्दै आएको छ । यसको कृषिमा फसल, पशुपालन र पारम्परिक पद्धतिहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । आधुनिक प्रविधि र जलवायु परिवर्तनका प्रभाव कम गर्ने उपायहरू अपनाउँदै तिब्बतको कृषिले सफलता प्राप्त गरेको छ ।

तिब्बती किसानले खाद्यान्न उब्जाउन र आफ्नो समुदायलाई दिगो बनाउनका लागि सरल विधिहरू विकास गरेका छन् । आधुनिकीकरण र सरकारी सहयोगले तिब्बती कृषिले आफ्नो सांस्कृतिक जरा जोगाएर विकास गरिरहेको छ । मैले तिब्बतमा के देखेको छु त्यो खेती मात्र होइन, यो जीवनको एक तरिका हो जसले भूमिलाई सम्मान गर्छ । तिब्बतको कृषिले आफ्ना नागरिकलाई पोषण दिन र विश्वलाई प्रेरणा दिन्छ । समान भौगोलिक र जलवायु चुनौती भएको हिमाली क्षेत्र तिब्बत र नेपाल दुवैको मेरुदण्ड भनेको कृषि हो ।

तिब्बतले आफ्नो कृषि अभ्यासलाई आधुनिकीकरण गर्नमा उल्लेखनीय प्रगति गरेको छ । नेपालले पनि तिब्बतको कृषि सफलताबाट बहुमूल्य पाठ सिक्न सक्छ । तिब्बतका केही रणनीति, जस्तै बाली विविधीकरण, सरकारी सहयोग र दिगो अभ्यासहरू अपनाएर नेपालले आफ्नो कृषि उत्पादन र उत्पादकत्व बढाउन सक्छ । नेपाली कृषिको भविष्य जलवायु अनुकूलनमा निर्भर छ र तिब्बतको अनुभवले प्रगतिको मार्गचित्र प्रदान गर्छ ।

नेपालले तिब्बतको कृषिबाट उचाइयुक्त क्षेत्रमा खेती गर्ने तरिका, पानीको कुशल प्रबन्धन, जलवायु–प्रतिरोधी बालीको उत्पादन र पर्यावरण–अनुकूल कृषि सिक्न सक्छ । तिब्बती कृषिमा रासायनिक खाद र कीटनाशकको प्रयोग कम गरी पशुपालनलाई महत्त्व दिइएको छ, जसलाई अपनाएर नेपालले पनि खाद्य सुरक्षा र माटोको उर्वरता बढाउन सक्छ । यसबाहेक समुदाय–आधारित कृषि पद्धतिले पनि नेपाली कृषकलाई आफ्नो खेती प्रणाली सुधार गर्न मद्दत गर्न सक्छ । यस्ता तत्त्वहरू अपनाउँदै नेपालले जलवायु परिवर्तनका प्रभाव संकुचित गर्ने र स्थायी कृषि विकास गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्