महानगरको सडक सौन्दर्यकरणका लागि एभरेष्ट बैंकको सहयोग

विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित एभरेष्ट बैंकले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप एभरेष्ट बैंकले पहिलो चरणमा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाललाई बैंकका कोशी प्रदेश प्रमुख सुधीर गौतमले चेक हस्तान्तरण गरे । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । एभरेष्टसहित १८ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३२ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पुर्याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये २ वटामा मात्रै अब तारजाली लगाउन बाँकी छ । करिब ४ वटा डिभाइटरमा मात्रै फूल रोप्न बाँकी रहेको उनले बताए । यसअघि रोपेका फूल र विरुवाका कारण विराटनगर सुन्दर देखिएको छ ।
महानगरका मेयर नागेश कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताए ।