Logo

एक वर्षमा सुनको मूल्य झण्डै आधा लाख बढ्यो

काठमाडौं– वर्ष २०८१ मा पहेँलो बहुमूल्य धातु सुनको मूल्यमा निकै उतार चढाव आयो । यो वर्षको सुरुको दोस्रो दिन अर्थात् वैशाख २ मा यसको मूल्य प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा किनबेच भएको थियो । वर्षको अन्त (चैत २९) मा आउँदा सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेको छ । एक वर्षमा सुन तोलामा ४८ हजार २०० सय बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २ गते सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो । वर्षको अन्तिम महिना चैत २९ मा आइपुग्दा यसको मूल्य एक् लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ । बैशाख २ मा कारोबार भएको सुनको मूल्य र चैत २९ मा कारोबार भएको मूल्यसँग तुलना गर्दा प्रतितालो सुन ४८ हजार २ सय रुपैयाँले बढी हो ।

पछिल्लो समय सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ । महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ३ हजार ९ सय रूपैयाँ बढेर हालसम्मकै उच्च एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको हो । बिहीबार प्रतितोला सुन एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार सुन प्रतितोला एक लाख ७६ हजार एक सयमा कारोबार भएको थियो ।

पछिल्ला दुई दिनमा मात्र सुन ९ हजार रुपैयाँ हाराहारीले बढेको छ । रुस–युक्रेन, इजरायल–हमास र अमेरिका र चीनबीचको व्यापारीको युद्धका कारण २०८१ मा सुनको मूल्यमा धेरै उताव चढाव भएको व्यवसायीहरु बताउँछन् । रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्दै गएको सुनको मूल्य अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि ओरालो लाग्ने अपेक्षा थियो ।

तर, पछिल्लो ट्रम्पको व्यापारिक नीतिले गर्दा सुनको मूल्य झन् अस्थिर रहेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारणले पनि सुनको मूल्य अकासिएको उनको बुझाइ छ । शाक्यका अनुसार अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण नभएको भन्दै विश्वका लगानीकर्ता सुनमा आकर्षित भएका छन् ।

सेयरमा भन्दा लगानीकर्ताको ध्यान सुनमा गएकाले यसको मूल्य आकासिएको छ । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि रुस–युक्रेन र इजरायल–हमास युद्ध अन्त्य हुने अनुमान थियो । तर, फेरि ट्रम्पकै कर नीतिका कारण पछिल्लो पटक सुनको मूल्य कहाँसम्म पुग्छ भन्ने आँकलन गर्न नसक्ने अवस्था रहेको सुनचाँदी व्यवसायी शाक्य बताउँछन् ।

‘केही दिनअघि भारतीय मिडियाले सुनको मूल्य अब एक लाखसम्म झर्ने अनुमान लगाएका थिए । तर, पछिल्लो भू–राजनीतिक तनाव, अमेरिका र चीनबीचको व्यापारीक द्वन्द्वसँग ट्रम्पका कर नीतिले सुनको मूल्य कहाँ पुग्छ भन्ने सकिँदैन’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण ठूला लगानीकर्ताले अन्य क्षेत्र भन्दा सुन नै लगानीका लागि सुरक्षित मानेर लगानी गरिरहेका छन् । अब सुनको मूल्य घट्न बढ्ने कहाँसम्म पुग्छ भनेर एकिनका साथ अनुमानमा भन्ने पनि सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्