Logo

नयाँ वर्षकाे अवसरमा भैरहवाका होटलमा छुट

भैरहवा– नयाँ वर्ष २०८२ लाई लक्षित गरी भैरहवाका होटलहरूले छुटको अफर ल्याएका छन् । नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना हुने कार्यक्रम, नयाँ वर्ष र त्यसपछिका केही दिनका लागि भैरहवा क्षेत्रका ठूला तारे होटेलसँगै पर्यटकीय होटलहरूले आन्तरिक एव बाह्य पर्यटकलाई लक्षित गरी छुटका अफर ल्याएका हुन् । त्यस्ता अफरहरू चैत मसान्तदेखि वैशाख २ गतेसम्मलाई र केही होटलहरूले अझ लामो समयसम्मका लागि ल्याएका छन् ।

तारे होटलहरूले खास गरी होटल बसाइँका साथै त्यहाँ आयोजना हुने नव वर्ष विशेष कार्यक्रमहरूमा आयोजना हुने गाला डिनर, म्युजिकल इभेन्टसहित विभिन्न कार्यक्रममा आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न छुटसहितका अफर ल्याएको सिद्धार्थ होटेल संघ (सान) भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । यस्ता कार्यक्रमले पर्यटन एवम् होटेल रेस्टुरेन्ट क्षेत्रको प्रवर्द्धन हुने श्रेष्ठको भनाइ छ ।

भैरहवा क्षेत्रमा रहेका पाँच तारे होटलहरू टाइगर प्यालेस रिसोर्ट, सिद्धार्थ भिलाषा, पवन प्यालेस लुम्बिनी, चार तारे होटलहरू ननास, मौर्य, एसियनबुद्ध, निर्भाना, बोधी रेडसन, गौतमबुद्ध एयरपोर्ट, ल्याण्डमार्क, ड्रिमल्याण्ड र मणिग्रामलगायतका दर्जनौँ होटेलहरूले आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । पाँच तारे रिसोर्ट टाइगर प्यालेस बाइ सोल्टीले नयाँ वर्षलाई विशेष गरी मनाउने बताएको छ । रिसोर्टले स्वदेशी र विदेशी पाहुनालाई लक्षित गरेर नयाँ वर्षको पहिलो दिन सांगीतिक ब्यान्ड कुटुम्बको प्रस्तुति राखेको छ ।

वैशाख १ गते रिसोर्टमा आउने पाहुनाँको नयाँ वर्ष विशेष तुल्याउन सस्तो प्याकेजसमेत घोषणा गरिएको छ । रिसोर्टका महाप्रबन्धक अग्निमित्र शर्माका अनुसार नयाँ वर्षका दिन साँझ ७ देखि ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । भैरहवाकै अर्को पाँच तारे होटेल सिद्धार्थ भिलाषाले न्यु इएर इभका विशेष सांगीतिक कार्यक्रम राखेको छ ।

आफ्ना ग्राहकलाई एकल टिकटको लागी २ हजार ९ सय ९९, जोडीका लागी ५ हजार ५ सय ९९ तथा बच्चाका लागी १ हजार ४ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । भैरहवाकै चार तारे होटेल नान्सले नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा सांगीतिक कार्यक्रम गर्दैछ । नयाँ वर्षको पूर्व सन्ध्यालाई रमझम बनाउन होटलमा कार्यक्रम आयोजना गर्न लागिएको हो । होटेल नान्सका महाप्रबन्धक सुनिल श्रेष्ठले स्विमिङ पुल क्षेत्रमा सांगीतिक कार्यक्रम राखिएको बताए ।

‘आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली नयाँ वर्षको उमंग थप्न कार्यक्रम आयोजना गरिएको हो’, श्रेष्ठले भने, ‘तारे होटलमा स्वादिष्ट परिकारसँगै पर्यटक र स्थानीय बासिन्दा रमाउने हाम्रो विश्वास छ ।’ होटलले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै एक रातको ७ हजार ५ सय रुपैयाँको प्याकेज अफर ल्याइएको छ ।

अफर अनुसार एक रात बास बसेकालाई रात्रि बफेट डिनर र बिहानको ब्रेक फास्ट समावेश छ । सो रकममा २ जनालाई सेवा उपलब्ध रहेको होटलले जनाएको छ । भैरहवाको देवकोटा चोकस्थित ननास होटलमा एक जोडीको लागि आकर्षक डिलक्स रुम, स्वागतम पेय पदार्थबाट साथै रेष्टुरेण्ट फुड्समा २० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ ।

होटलका अनुसार आन्तरिक पर्यटक लक्षित यो योजना चैत मसान्तदेखि २०८२ वैशाख ३ गतेसम्म लागू हुने महाप्रबन्धक श्रेष्ठले बताए । चार तारे होटलहरू निर्भाना, मौर्य, बोधी रेडसन, भैरहवा गार्डेन, गौतमबुद्ध एयरपोर्ट, ल्याण्डमार्क भैरहवा साथै ननस्टार होटलहरू लुम्बिनी प्यालेश रिसोर्ट, छपिया, सनस्टार, पौवालगायतले नव वर्षमा अफर ल्याएका छन् । उनीहरूले पनि रुम चार्जमा छुटसहितका विभिन्न अफरहरू ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्