Logo

पर्यटन उद्योगका लागि मध्यम वर्ष

काठमाडौं– पर्यटन उद्योगका लागि २०८१ साल समग्रमा मध्यम देखिएको छ । यो वर्ष मूलतः होटलको संख्यामा वृद्धि भएको छ, पर्यटक आगमनमा सुधार आएको छ र पर्वतारोहण क्षेत्र उत्साहजनक भएको छ ।

यो वर्षको चैत १५ सम्म १० लाख ८३ हजार ५ सय विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । देशभर साना–ठूला गरी दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा आएका छन् । यो वर्ष काठमाडौं उपत्यकामा पाँचतारे होटल मक्र्योर, हिल्टन काठमाडौं, रोयल ट्युलिप, होलिडे इन र लेमन ट्री प्रिमियर सञ्चालनमा ल्याए । साथै विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौं सञ्चालनमा आएको छ । मोफसलतर्फ नेपालगञ्जमा सोल्टी वेस्टर्न प्र्रिमियर र विराटनगरमा लेमन ट्री सञ्चालनमा आए । दुवै पाँचतारे हुन् ।

देशका विभिन्न पर्यटन गन्तव्यमा थप होटल तथा रिसोर्ट निर्माणको क्रममा छन् । ठूला लगानीमा सञ्चालनमा आएका होटल प्रायः विदेशी चेन होटल हुन् । यो वर्ष मुलुकभर पाँचतारे होटलको संख्या २६ पुगेको छ । पर्यटन विभागका अनुसार यसमा पाँचतारे होटल २०, पाँचतारे डिलक्स तीन र पाँचतारे बुटिक होटल तीन छन् । चारतारे स्तरका होटलको संख्या ४१ छ । यसैगरी तीनतारे ३७, दुईतारे ४९ र एकतारे ४५ वटा होटल छन् । निर्माण पूरा गरेर सञ्चालन अनुमति र वर्गीकरणका लागि होटलहरु दर्ता प्रक्रियामा आउने क्रम पनि जारी रहेको विभागले जनाएको छ । इटहरीमा रमदा र पोखरामा इन्टरकन्टिनेन्टल, सोल्टी, बाराही, पौवा र सिद्धार्थ होटल लगानी विस्तारको चरणमा छन् । अन्य क्षेत्रमा पनि चेन तथा स्थानीय स्तरका ठूला होटल खुल्ने र लगानी विस्तार हुने क्रम जारी छ ।

आइएमई ग्रुपले पनि पर्यटन क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । आइएमईले सातवटै प्रदेशमा होटल तथा केबुलकारसहित पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको छ । होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्य होटलको संख्या थपिने क्रम जारी रहेको बताउँछन् ।

एकपल्ट लगानी गरेर लामो समयसम्म राम्रो प्रतिफल लिन सकिने भएका कारण होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको उनको भनाइ छ । तर, पूर्वाधार विस्तार भए पनि पर्यटक आगमन कम भएको होटल व्यवसायीले बताउँदै आएका छन् । शाक्यले भने, ‘पर्वतारोहण, धार्मिक, वाइल्डलाइफ आदि क्षेत्रमा प्रशस्त सम्भावना भएकाले होटलमा लगानी बढेको हो । यो वर्ष खासगरी चेन होटलको बाहुल्यता रह्यो । ‘वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन नेपालको होटल क्षेत्र सक्षम छ । तर, अधिकतम १२ लाख पर्यटकमा सीमित हुनुपरेको छ । भारत र चीनमा उडान संख्या बढाएर प्रचारप्रसारमा जोड दिन सके पर्यटक बढाउन सकिन्छ,’ महासचिव शाक्यले भने ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा ११ लाख ४५ हजार पर्यटकले नेपाल भ्रमण गरे । बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘दैनिक सरदर तीन हजार पर्यटकले गत वर्ष नेपाल भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा वृद्धि भएको थियो । समग्रमा २०८१ साल पर्यटन क्षेत्रको लागि मध्यम रह्यो ।’ नेपाल प्रिमियर लिग, विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ड्रागन बोट महोत्सव, पोखरा भ्रमण वर्ष, कोशी भ्रमण वर्षका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमन बढाएको उनको भनाइ छ ।

यो वर्ष पर्वतारोहण क्षेत्रको लागि पनि उत्साहजनक नै रह्यो । सगरमाथा आरोहणका लागि ५५ देशका ४५ वटा समूहबाट ४२१ जनाले अनुमति लिएकोमा आरोहण दल, गाइड गरी ५५० जनाभन्दा बढीले आरोहण गरेका थिए । यसबाट ६० करोडभन्दा बढी रोयल्टी संकलन भएको थियो ।

पर्यटक आगमन बढे पनि कोभिड अगाडिको लय भने यो वर्ष पनि समात्न सकेन । सन् २०२४ को शुरुवाती महिनामा कोभिडपछि पर्यटन बजार विस्तारै लयमा फिर्ता हुने क्रममा थियो । तर, पछिल्लो समय भने पर्यटक आगमन उल्लेख्य वृद्धि हुन सकेको छैन । पर्वतारोहणको सिजन (अप्रिल, मे, जुन) मा पर्यटक आगमन केही बढेको थियो । त्यसयता उल्लेख्य वृद्धि भएको छैन । कोभिड सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए ।

प्रतिक्रिया दिनुहोस्