प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं- दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले शुक्रबार १२ दिनको म्याद दिएको हो ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो । चैत १५ गतेदेखि फरार प्रसाईं र खड्कालाई शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं ल्याएको थियो ।
शुक्रबार नै उनलाई अदालत उपस्थित गराइएको हो । यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।