Logo

गढीमाई आय–व्ययमा समितिमा विवाद

बारा– गत मंसिरमा सम्पन्न बाराको गढीमाई पञ्चवर्षीय मेला समितिले सार्वजनिक गरेकोे करिब साढे पाँच करोडको आय–व्यय विवादमा परेको छ । मेलाबाट ५ करोड ३६ लाख आम्दानी भएको एवं ३ करोड ५५ खर्च भएको समितिले जनाएको छ ।

अब बाँकी एक करोड ८० लाख ९० हजार रुपैयाँ रहेको आय र व्यय विवरण सार्वजनिक गरे लगतै समिति भित्रै विवाद सुरु भएको हो । नेपाल भारतको करिब एक करोड दर्शनार्थीले मेला अवलोकन गरेको दाबी गर्ने समितिले सार्वजनिक गरिएको आय–व्यय प्रतिवेदनमा कतिपय आम्दानीका शीर्षक बेपता बनाइएको र लाखौँ रुपैयाँको खर्च अनावश्यक गरिएको भन्दै मेला समिति भित्रै असहमति बढेको छ ।

गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव अध्यक्ष रहेको समितिका उपाध्यक्ष मनोज गुप्ताले सार्वजनिक गरेका आय–व्यय विवरण सन्तोषजनक नरहेको यादवले बताए । उनले मेलामा देखिएको धेरै जसो आम्दानी शीर्षकमा नसमेटिएको बताउँदै सार्वजनिक गरिएको कतिपय खर्चका शीर्षक सन्तोषजनक नरहेकाले समितिका कोषाध्यक्षसँग आफूले हरसिहसाब देखाउन माग गर्दासमेत नदेखाएपछि गोलमोल भएको उनको भनाइ छ ।

सार्वजनिक गरिएको आय–व्ययमा आम्दानीका मुख्य स्रोतहरूमा मेला चलाउन एक महिनालाई दिइएको जग्गा, मनोरञ्जन ठेक्का तथा व्यवस्थापन, विशेष दर्शन, राँगा र परेवा व्यवस्थापन, मनत मुण्डन, पार्किङ, दान पेटी, पोखरी, गुँदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान प्रमुख छन् ।

नगरको– १ का वडाध्यक्षसमेत रहेका गुप्ताले प्रत्येक दर्शनार्थी, गाउँ, नगर, प्रदेश र देशको लगानी रहेको मेलाको हरहिसाब पारदर्शी रहेको बताए । मेलाको आम्दानीबारे चासो राखिरहेको नगरपालिकाले मेला व्यवस्थापन गर्न कार्यविधि अनुसार मुल समिति र दर्जनभन्दा बढी उपसमिति बनाई परिचालन गरेको थियो । तर मेला सकिएको चार महिना बितिसक्दासमेत व्यवस्थापनमा भएको आम्दानी र खर्च समितिले गुपचुप राखेको थियो ।

स्थानीयको दबाब बढ्दै गएपछि समितिले हरहिसाब सार्वजनिक गरेको हो । मेलाको हरहिसाब हेर्न चाहनेलाई आफूले सहजै देखाउने गरेको बताउँदै समितिका कोषाध्यक्ष वीरेन्द्र चौरासीयाले समितिले मेलाको सबै हरहिसाब चेकबाट गर्ने गरेकोले आफूले गरेको मेलाको आय–व्यय पारदर्शी रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्