बैंकिङ कसुरमा कारागार चलान

बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरी मंगलबार कारागार चलान गरिएको छ । उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौं तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी कारागार चलान भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौंको गोलढुङ्गाबाट उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतले मंगलबार केन्द्रीय कारागार सुन्धारा पठाएको हो ।
उनले व्यवसायका लागि पाँच लाख रुपैयाँ ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो ।