Logo

चार लेन सडक विस्तार अन्तिम चरणमा

धनगढी– धनगढीको मेनरोड निर्माण अन्तिम चरणमा पुगेको भए पनि सो रोडमा पर्ने तीनवटा पुला निर्माणको सुरसार नै छैन । पूर्वाधार विकास कार्यालयले ५१ करोड ६८ लाख रुपैयाँ खर्च गरेर कैलाली पुलदेखि क्याम्पस चोकसम्मको धनगढी मेनरोडलाई चार लेन सडक निर्माण गरिरहेको छ । तर २.३ किलोमिटरको मेनरोडमा पर्ने कैलाली नाला, सुकुटी नाला र सेतोपुल खोलामा पुल निर्माणको कुनै योजना बनेको छैन ।

पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार त्यसका लागि न कसैले चासो दिएको छ न त कुनै योजना नै बनेको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्म कैलाली नाला, जिल्ला प्रहरी कार्यालयको छेउमा सुकुटी नाला र सेतोपुल खोला छ । यी खोला धेरै पहिले बनेको कमन लेनको पुल छ । सडकको चौडाइ र धनगढीको ट्राफिक व्यवस्थापनको आधारमा ती खोलामा चार लेनकै पुल आवश्यक छ । सडक बनाइसकेपछि पूर्वाधार विकास कार्यालयले नै सो सडकमा पर्ने पुलहरू पनि बनाउनुपर्ने हुन्छ । तर, ती खोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले लागत स्टिमेट, वातावरणीय अध्ययन, विस्तृत परियोजना प्रतिवेदन केही पनि बनेको छैन ।

कार्यालयका प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले मेनरोडमा रहेका खोलामा पुल बनाउनका लागि कुनै पनि योजना नरहेको बताए । उपमहानगरपालिकाको पहलमा कैलाली पुलदेखि क्याम्पस रोडसम्मका घरधनीले सडक विस्तारका लागि आफ्नो घर आफै तोडेका थिए । धनगढीको मेनरोडलाई चार लेनमा विस्तार गर्नका लागि पहल गरेको धनगढी उपमहानगरपालिकाले समेत ती पुल निर्माणका लागि पहल गरेको छैन ।

धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर द्विजराज भट्टले ती खोलामा पुल निर्माणका लागि सडक निर्माणकै समयमा अनुरोध गरिएको बताए । प्रदेश सरकारले नै ती पुल निर्माण गर्नुपर्ने बताउँदै उनले अहिलेसम्म पूर्वाधार विकास कार्यालयले योजना, लागत अनुमान, पुलको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको हुनुपर्ने बताए । पूर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रक्सन प्रालिलाई २०८२ वैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्ने सर्तमा २०८० वैशाख २६ गते मेनरोड निर्माणको ठेक्का दिएको थियो । केएसले तोकिएकै मितिमा सक्ने गरी काम गरिरहेको छ ।

हालसम्म सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने फुटपाथ, रंगरोगन र लाइटिङ लगायतको काम बाँकी छ । यी सबै काम असार मसान्तसम्म सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका साइट इन्चार्ज हर्क जोशीले बताए । कार्यालयले निर्माण कम्पनीलाई फागुन मसान्तसम्म ६० प्रतिशत भौतिक निर्माण भएको मूल्यांकन गरी ३१ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको १० करोड ५० लाख रुपैयाँसमेत भुक्तानी गरिसकेपछि बाँकी भुक्तानीका लागि बजेट अभाव हुने कार्यालयले जनाएको छ ।

कैलाली नालाकै पुलको योजना अस्वीकृत
कैलाली नालामै धनगढीको वडा नं. १ र २ जोड्ने अर्को पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयमा ४० लाख रुपैयाँ नेपाल सरकारबाट ससर्त अनुदान आएको थियो । तर, प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले सो पुल निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृति नदिएपछि सो योजना कार्यान्वयन नहुने भएको छ । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार सो पुल निर्माणका लागि गत वर्षसमेत संघबाट ससर्त बजेट आएको थियो । ४० करोडमै सो पुल बन्न नसक्ने र बहुवर्षीय स्वीकृत नभएको कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्