चैतको तीन सातामा १७ अर्बमात्रै बढ्यो कर्जा प्रवाह

काठमाडौं– पछिल्लो समय ऋण लिनका लागि ब्याजदर निकै न्यून अवस्थामा पुगे पनि त्यसको प्रभाव भने कर्जा विस्तारमा देखिएको छैन । अर्थतन्त्रमा आएको सुस्तता र निजी क्षेत्रले कर्जा माग गर्न नसक्दा कर्जा विस्तार अपेक्षित गतिमा बढ्न नसकेको हो । चैत महिनामा कर्जा विस्तारमा झनै संकुचन आएको वाणिज्य बैंकहरूको तथ्यांकले देखाउँछ ।
चैत तेस्रो साता (२२ गतेसम्म) को तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा प्रवाह १७ अर्ब रुपैयाँमात्रै बढेको छ । यो रकम वर्षका अन्य धेरै महिनाभन्दा कम हो । एक साताको अवधिमा केही मात्रामा कर्जा बढ्ने भए पनि धेरै बढ्ने अवस्था नदेखिएको बैंकरहरू बताउँछन् । बैंकहरूले गत पुसदेखि नै ब्याजदर घटाउन छाडेका छन् । पुस, माघ, फागुन हुँदै चैतमा पनि ब्याजदर स्थिर रह्यो । ब्याजदर घटिरहे पनि त्यसको प्रभाव कर्जा विस्तारमा देखिएको छैन । अन्य कारणहरू हाबी हुँदा कर्जा विस्तारमा ब्याजदरको प्रभाव नदेखिएको बैंकरहरू बताउँछन् ।
फागुनको तुलनामा चैतमा मुद्दति निक्षेपको ब्याजदर औैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको थियो । फागुनमा भने निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत थियो । अहिले बैंकहरूको आधार दर घट्दै गएको छ, जसले कर्जाको ब्याजदर पनि घटाउँदै लगेको छ । तर, घट्दो ब्याजदरले कर्जा विस्तारमा अपेक्षित प्रभाव पार्न सकेको छैन । बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै गराउन नपाउने व्यवस्था छ । यस्तै, संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत निक्षेपभन्दा कम्तीमा १ प्रतिशत विन्दुले ब्याजदर कम गर्नुपर्छ ।
गत वर्षको चैतमा निक्षेप घट्ने र कर्जा बढ्ने गरेकोमा यो चैतमा भने त्यसको उल्टो अवस्था सिर्जना भएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । चैतको तीन सातामा १७ अर्ब रुपैयाँमात्रै कर्जा बढेको छ । तर, यही अवधिमा निक्षेप भने ५२ अर्ब रुपैयाँ हाराहारीले बढेको छ ।
अहिले दोस्रो किस्ता आयकर बुझाउने समय पनि परेकाले कर्जा बढ्न सक्ने सम्भावना भए पनि त्यस्तो अवस्था नदेखिएको बैंकरहरू बताउँछन् । गत असारको तुलनामा साउनमा वाणिज्य बैंकहरूको कर्जा लगानी २ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ७३ अर्ब पुगेको थियो । भदौमा ५३ अर्ब रुपैयाँले बढेको कर्जा विस्तार असोजमा ५६ अर्बले बढेको थियो । तर, कात्तिकमा २ अर्ब रुपैयाँले कर्जा विस्तार वृद्धिमा संकुचन आएको थियो ।
त्यसपछि मंसिरमा ४२ अर्ब रुपैयाँले बढेको कर्जा विस्तार पुसमा ९४ अर्ब, माघमा १२ अर्ब र फागुनमा २३ अर्ब रुपैयाँले बढेको थियो । चैत २२ सम्ममा १७ अर्ब रुपैयाँले बढेको कर्जा महिनाको अन्तिमसम्ममा झिनोमात्रै बढ्ने देखिएको बैंकरहरू बताउँछन् । गत वर्षको चैतमा निक्षेपभन्दा कर्जा धेरै प्रवाह हुने ट्रेन्ड रहेकोमा अहिले त्यस्तो नभएको सीईओ खालिङ बताउँछन् । कर्जा वृद्धि भइरहे पनि चैतमा सुस्त रहेको उनले बताए । यो अवधिसम्म वाणिज्य बैंकको कुल कर्जा लगानी ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ भने कुल निक्षेप संकलन ६० खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित गतिमा नबढेको खालिङको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनालले कर्जा विस्तार भए पनि तरलता बढ्दै गएको बताए । ‘रेमिटेन्स पनि बढ्दै गइरहँदा त्यसअनुसार कर्जा प्रवाह हुन सकेको छैन । त्यसकारण तरलता प्रशस्त छ,’ उनले भने । चैत महिनामा पनि निक्षेप बढिरहेको तर कर्जा प्रवाह बढ्न नसकेको उनले बताए । यसले ब्याजदर थप बढाउने अवस्था नदेखाएको उनको भनाइ छ ।