कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ
भारतीय पर्यटकका लागि नाकामा मात्रै चेकजाँच

विराटनगर–एक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश सरकारले प्रदेश पर्यटक वर्षको शुभारम्भ गरेको छ । गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुमको तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–२ स्थित आरआर गार्डेनमा संघीय सरकारका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको उदघाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटन क्षेत्रबाट देशको आर्थिक विकास गर्न सकिने बताए । नेपालमा पर्यटनको सम्भावना रहेको चर्चा गर्दै सिंहले बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए । ‘पर्यटन वर्ष घोषणा गरेर मात्रै हुँदैन । यसको व्यापक प्रचार गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘तेस्रो मुलुकका पर्यटक ल्याउन नसके पनि भारतीय पर्यटक ल्याउन सक्नुपर्दछ ।’
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाटै पर्यटन क्षेत्रको विकासमा सन्देश प्रवाह गरी आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए । उनले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रलाई विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताए । उनले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशको पर्यटन विकास गरी नमुना प्रदेशको रुपमा अघि बढाइने प्रतिबद्धता जनाए ।
सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेर अघि बढ्दै पर्यटनलाई प्रवर्द्धन गर्ने चाहना रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । त्यसका लागि सबै जातजाति, धर्म संस्कृतिको जगेर्ना र संरक्षणमा अघि बढ्ने उनले बताए । पर्यटनकै माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । उनले कोशी प्रदेशलाई बन्द हड्तालबाट मुक्त बनाउँदै भएका समस्या वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन विकासका लागि नीतिगत सुधार, संरचनाको विकास, प्रचारप्रसार गरिने बताए । साथै सामाजिक एवं धार्मिक संरचनाको संरक्षण गर्दै पर्यटन क्षेत्रलाई अघि बढाउने बताए । लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले पहाडी क्षेत्रमा मान्छेको बसाइ घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । मान्छे नै नबस्ने हो भने पर्यटन विकासमा गरिएको लगानीको भविष्य जोखिममा पर्ने उनले बताए । गाउँका पदमार्गहरू ठूलो बाटोमा परिणत हुँदै गएका कारण थप समस्या निम्तिने बताए ।
कोशीमा पूर्वाधार र पर्यटन
कोशी प्रदेशसँग सीमा जोडिएको भारतको बिहार, पश्चिमबंगाल र सिक्किमको कुल जनसंख्या २१ करोड जति छ । १८ करोड जनसंख्या भएको बंगलादेश र भुटानसँग स्थलमार्गबाट हुने पहुँच काँकडभिट्टाबाटै हुन्छ । भारत नेपालका लागि सबभन्दा ठूलो बजार हो । यो प्रदेशको कुल गार्हस्थ्य उत्पादन पाँच खर्ब रुपैयाँको हाराहारीमा छ । यसको १.९३ प्रतिशत मात्रै पर्यटन क्षेत्रको योगदान छ ।
यसले प्रदेशको आर्थिक गतिविधिमा पर्यटन क्षेत्रको योगदान राष्ट्रिय योगदानको अनुपातमा पुग्न नसकेको देखाउँछ । तर सम्भावना अपार छ । प्रदेशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्र मुख्य आधार हुनसक्छ । त्यही सम्भावनालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको हो । गत असोज ११ गते पर्यटन दिवसको अवसर पारेरै प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको थियो ।
यो वर्षमा १० लाख पर्यटक कोशी प्रदेशमा ल्याउने लक्ष्य लिएको पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल बताउँछन् । त्यसबाहेक स्थानीयस्तरमा २ हजार नयाँ रोजगारी सिर्जना गर्ने र कोशी प्रदेशलाई पर्यटनको केन्द्रको रुपमा पहिचान र स्थापित गर्ने योजना सरकारको छ । पर्यटन वर्ष सफल बनाउन ५ सयभन्दा बढी व्यक्तिको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भएको छ । यस्तै मन्त्री मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ । प्रदेश सरकारले ८२ का ८२ गन्तव्य भनेर नारा नै बनाएको छ ।
संघ सरकारले लिएको १६ लाखको लक्ष्य पूरा हुन नसकिरहेको बेला कोशीमा मात्रै १० लाख पर्यटक भित्रन सम्भव छ कि छैन ? यो बेग्लै प्रश्न हो । तर, १० लाख पर्यटक भित्रिन कोशी प्रदेशमा के कस्तो सम्भावनाका क्षेत्रहरू छन् र सरकारले के तयारी गरिरहेको छ भन्ने विषय महत्त्वपूर्ण विषय हो । प्रदेश सरकारले ‘८२ का लागि ८२ गन्तव्य’ सूची सार्वजनिक गरिसकेको छ । डिलाइटफुल (रमणीय) कोशी भन्ने नाराका साथ घोषणा गरिएको कोशी पर्यटन वर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रचारप्रसारलाई तीव्रता दिने र छिमेकी मुलुकबाट धेरैभन्दा धेरै पर्यटक ल्याउने सरकारको लक्ष्य छ । संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरू छन् । त्यसबाहेक प्रदेश सरकारले थप ८२ नयाँ गन्तव्य पहिचान गरी विकास र प्रवर्द्धनमा जुटेको हो । कोशी प्रदेशमा विभिन्न चारवटा पदमार्ग (मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग) निर्माणका लागि स्वीस सरकारसँग सम्झौता भइसकेको छ ।
२ अर्ब ३५ करोड लागतको यो परियोजनाले २९ वटा पालिकालाई छुन्छ । २०८५ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यो पदमार्गको निर्माणपछि कोशी प्रदेशको पर्यटनलाई ठूलो सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ । पर्यटन वर्षको कार्यक्रमको लागि १० करोड विनियोजन गरिएको भए पनि प्रदेश सरकारले विभिन्न स्थानीय तहमा पर्यटन विकास आयोजनामा स्वीकृत गरेको ५५ करोड ४१ लाख, पर्यटन पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि ३८ करोड ८१ लाख रकम खर्च भइरहेको जनाएको छ ।
कोशी प्रदेशमा पर्यटकस्तरीय होटलदेखि पाँचतारे होटलसम्म गरी ७ सयको हाराहारीमा छन् । २ हजार जति गेष्ट हाउस र लज, एक दिनमा १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्नसक्ने क्षमता रहको पर्यटन व्यवसायीसमेत रहेको पर्यटन वर्ष निर्देशक समितिका सहसंयोजक भविसकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशमा साहसिक पर्यटनमा सगरमाथा आधार शिविर टे्रक, मकालु बरुण ट्रेक, कञ्चनजंघा आधार शिविर, तिम्बुङ पोखरी टे्रक, मुन्धुम टे्रल, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक, साइकलिङ एवम् साहितक पर्यटनसँग सम्बन्धित खेलकुदले पर्यटकलाई आर्षित गरिरहेका छन् ।
कोशी टप्पु क्षेत्रको अर्ना र जलपंक्षीहरू विश्वमै प्रख्यात छ । त्यहाँ नेपालमा पाइने ८९५ प्रजातिका चरामध्ये ५३५ प्रजातिका चरा पाइन्छन् । यसबाहेक सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र चो ओयू हिमाल महत्त्वपूर्ण छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्रका पाटे बाघ र घोरलहरू पर्यटक लोभ्याउने स्थान हुन् । यसबाहेक रेडपाण्डा पदमार्ग, करसोङ पदमार्ग, डाग्बुङ पदमार्ग, जनजातिहरूको मौलिक खानपान, विभिन्न गुफा तथा पोखरीहरू ऐतिहासिक दरबारहरू, इलामको चियाबारीदेखि कन्याम, माईपोखरी, श्रीअन्तुहरू मनमोहक छन् ।
संखुवासभाको अरुण उपत्यका, सभापोखरी, गुफापोखरी, शिवधारादेखि मकालु हिमालसम्मका दृश्यहरू झनै मनोरम छन् । तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रको मनमोहक लागीगुराँस क्षेत्रसँगै धनकुटाको भेडेंटार तथा राजारानी पोखरीहरू पर्यटनको हब बनिसकेका छन् । भोजपरको साल्पा सिलिचुङ, मैयुँ डाँडा, चखेवा भन्ज्याङले जो कोहीको मन बहलाउन सक्छ ।
झापाको केचनकवलदेखि सुनसरीको बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र, बर्जुताल, तालतलैया, मोरङको विराट राजाको दरबार तथा सिमसार तथा आदिवासी जनजातिहरूको संस्कृति यहाँका पर्यटनसँग सम्बन्धित विषयहरू हुन् । यस्तै ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र त हिन्दू, बुद्धिष्ट तथा किराँत धर्माबलम्वीहरूको आस्थाको केन्द्र हुन् ।
पर्यटनको दृष्टिले रमणीय र हिमालै हिमाल र पहाडैपहाडले घेरिएको सोलुखुम्बु झनै मनमोहक छ । सगरमाथाले गर्दा विश्वले चिनेको सोलुखुम्बुमा सायद विश्वकै मानिसहरू आएको हुनुपर्छ । सगरमाथाबाहेक सोलुखुम्बुको मेरापिक, पाँचपोखरी, पिके डाँडा, पत्ताले, दूधकुण्ड, नाम्चेबजार यहाँका रमणीय क्षेत्र हुन् ।
भारतीय पर्यटकका लागि नाकामा मात्रै चेकजाँचको व्यवस्था
पर्यटन वर्ष २०८२ घोषणा गरेको कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि स्टिकर टास्ने योजना अघि सारेको छ । पर्यटकका सवारीमा सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी स्टिकर टास्ने योजना ल्याइएको हो । नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टास गरेपछि पर्यटक बस र भारतीय सवारीलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिने छैन । यसरी बाँडिने स्टिकरमा ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजतपत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार भारतीय पर्यटकको सहजताका लागि विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर सुरक्षा जाँचपछि स्टिकर वितरण गरिनेछ । नाकामा सुरक्षा जाँचपछि टाँसिने स्टिकर सुन्तले रङको हुनेछ । स्टिकरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोशी प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर राखिएको छ ।
स्टिकरमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, सवारी चालकको नाम, गाडीमा सवार यात्रु संख्या, प्रवेश नाका, बाहिरिने नाका र नेपालमा बस्ने समयावधि उल्लेख गरिएको छ । नाकामा एकपटक विवरण उल्लेख गरेको सवारीलाई प्रदेशका अन्य क्षेत्रमा चेकजाँच हुँदैन । यसअघि भारतीय पर्यटकले नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दु:ख दिने गरेको गुनासो गरेका थिए ।