व्यावसायिक च्याउखेती गरेर मनग्य आम्दानी

पर्वत– पर्वतको जलजला गाउँपालिका–८, फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले च्याउ र तरकारी खेतवाट वर्षेनी १२ लाख रुपैयााभन्दा बढी आम्दानी गर्न थालेकि छन् ।
चार वटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यसवर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भएको उनले बताइन् । ‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भनिन् ।
गोब्रे च्याउको प्रतिकेजी पाँच सय र कन्येलाई दुई सयमा बिक्री गर्ने कृषक खत्रीले गोब्रे च्याउबाट यस वर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख आम्दानी भएको बताइन् । कच्चा पदार्थसहितका सामग्रीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीवाट पाँच लाखको बिक्री गर्छिन् । च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया, गाजरलगायतका तरकारीसमेत उत्पादन गर्दै आएको उनले बताइन् ।
तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालिगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन् । खत्रीले यस वर्ष उच्च प्रविधिको हाइटेक टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेकी छन् । एसी जडित टनेलमा जाडो तथा गर्मी दुवै सिजनमा च्याउ उत्पादन हुने उनले बताइन् । अब च्याउ खेतीबाट निरन्तर आम्दानी हुने उनको भनाइ छ ।
सामाजिक एवम् राजनीतिक रूपमा समेत सक्रिय खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएकी छन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले समेत च्याउ र अन्य तरकारी खेतीको उत्पादन र बजारीकरणमा समेत सघाइरहेका छन् । अहिले दम्पत्तिको अलावा समय समयमा ज्यालारी मजदुर खोजेर तरकारी खेती गर्ने गरेको उनको भनाइ छ । खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमान्ले विदेश नगइकन सघाउन थालेको खत्रीले बताइन् ।
मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दु:ख गर्ने हो भने कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीवाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएकी छन् भने छोरालाई समेत निजी विद्यालयमा पढाएकी छन् । यसका अलावा बैंकमा बचतसमेत गर्न सफल भएको उनले बताइन् । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको बताइन् ।
पछिल्लो समय जलजला गाउँपालिकामा व्यावसायिक रूपमा लाग्ने कृषकको आकर्षण बढेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदानसमेत बढाउँछौ,’ आचार्यले भने । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी छ । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्त्वपूर्ण मानिन्छ । च्याउले क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउँछ ।