विमानस्थल सञ्चालनको माग गर्दै आन्दोलन घोषणा

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नु पर्ने माग राख्दै निजी क्षेत्रले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सिद्धार्थ चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार संगठन र सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय उडानको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आन्दोलनका कार्यक्रम विमानस्थल अगाडि धर्ना दिनेदेखि कालोपट्टी बाँधेर प्रदर्शन गर्नेसम्म रहेका छन् । सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीलेले विमानस्थल सञ्चालनमा सरकारले आलटाल गरेको, मन्त्रीपरिषद्बाट भएका निर्णयहरू कार्यान्वयन नभएको भन्दै आन्दोलनको विकल्प नभएको बताए ।
ज्ञवालीका अनुसार आन्दोलनका कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाइने छ । तीन संस्थाले पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरूसँग छलफल गरी प्रतिबद्धता लिने जनाएको छ ।
ज्ञवालीले प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखसँग भेट गरी अल्टिमेटम दिँदै विमानस्थलबाट उडान सुचारु गर्न ध्यानाकर्षण गराइने बताए । ‘हामीले कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्याली र प्रदर्शन तथा बजार परिक्रमा गर्नेछौं’ उनले भने । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा गर्ने र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि विरोध गरिने उनले बताए ।
योसँगै सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरूलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउने कार्यक्रम रहेको पनि उनले बताए । ज्ञवालीले आन्तरिक विमानस्थलबाट आगमन प्रस्थान बन्द गर्नका लागि सम्बन्धित पक्षलाई टिकट नकाट्नका लागि आह्वान र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवतजावत समेत बन्द गराउने चेतावनी दिए ।
शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रूप लिएमा त्यसको जिम्मा नेपाल सरकारको हुने पत्रकार सम्मेलनमा बताइएको थियो । यसबाट पनि अन्तर्राष्ट्रिय उडान नभएमा पुन: तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य हुने ज्ञवालीले बताए । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिबद्धता पूरा नगरेको उनको गुनासो थियो ।
सिद्धार्थ उवा संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले आफूहरूले गर्ने आन्दोलनमा लुम्बिनी प्रदेशका सम्पूर्ण निजी क्षेत्रलाई समेटेरअघि बढ्ने बताए । ‘रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र पाल्पाका निजी क्षेत्रसँग मिलेर संयुक्त आन्दोलन गर्छौं’, उनले भने,‘लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूमा पनि निजी क्षेत्रसँग सहकार्य गरी आन्दोलन चर्काउँछौं ।’ लुम्बिनी प्रदेशका निजी क्षेत्रका नेताहरूसँग छलफल गरेर उनीहरूको अगुवाइमा आन्दोलन गर्दा सार्थकता पाउने उनले बताए ।
आचार्यले भने, ‘नेतृत्व जसले गरे पनि फरक पर्दैन । तर, विमानस्थल चल्न पर्र्यो ।’ विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । सरकारले विमानस्थललाई डाइभर्सनको रूपमा प्रयोग मात्र गरेको आचार्यले जिकिर गरे । उनले अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने बताए ।
उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले विमानस्थल बन्ने तर, सञ्चालन नहुने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘यो अवस्थाले निजी क्षेत्र अत्यन्तै निराश छ’ उनले भने, ‘सरकारले आफूले गरेका प्रतिबद्धता पूरा गरेन ।’ रोक्काले सरकारले गरेको सहमति पालना नगर्दा बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए । गत वर्ष निजी क्षेत्रको अगुवाइमा एक सातासम्म विमानस्थल अगाडि प्रदर्शन भएको थियो । ‘रुपन्देही, लुम्बिनी प्रदेश र समग्र मुलुकको विकासका लागि विमानस्थल सञ्चालन हुनैपर्छ’ उनले भने, ‘हामी सम्पूर्ण संघसंस्थाहरू एकढिक्का भएका छौं । यसपटक निर्णायक आन्दोलन गर्नुपर्छ ।’
नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले अन्तर्राष्ट्रिय उडानको अनिश्चितताले चिन्ता बढाएको बताए । एउटा विमान कम्पनी बाहेक अन्यले भैरहवाबाट राम्रो यात्रु पाउँदासमेत उडान रोकेको उनले जनाए । ‘नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायी लगानी गर्नबाट पछाडि हटिरहेका छन्’ उनले भने, ‘सम्भावना भए लगानी गर्ने हो, नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको अवस्था छैन, सम्भावना नभइन कसरी लगानी गर्ने ? निजी क्षेत्र चरम निराशमा छ ।’
सिद्धार्थ उवा संघका महासचिव कृष्णप्रसाद घिमिरेले सरकारले पटकपटक ढाँटेको बताए । ‘मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले अब विमानस्थल पूर्णक्षमतामा चल्छ भन्छन् । तर उडान भरिरहेका विमान कम्पनीले यहाँ उडान रोकेका छन्’, उनले भने,‘विमानस्थल नियमित सञ्चालनका लागि सरकारले इच्छा नै देखाएन ।’ अब आफूहरूले निर्णायक आन्दोलन गर्ने उनले चेतावनी दिए ।