नेपाल बार एशोसिएसनको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

काठमाडौं- नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।
महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए । अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् ।