आगामी आवदेखि गाउँ–गाउँमा बिमा : चापागार्इं

नेपाल बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले आगामी नयाँ आर्थिक वर्षदेखि बिमा गाउँ गाउँसम्म लैजाने नीति ल्याउने तयारी गरेको बताएका छन् । शुक्रबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागार्इंले वित्तीय नीतिअनुसार जसरी नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अब गाउँ–गाउँसम्म जाने नीति ल्याउँदै छ त्यसैगरी बिमाको पहुँच पुराउन पनि बिमा समितिले नयाँ आर्थिक वर्षदेखि बिमालाई गाउँ–गाउँसम्म पुराउने नीति ल्याउने तयारी गरेको बताएका हुन् ।
बिमा समितिको आयोजनामा स्थानीय निकायका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागार्इंले यस असार मसान्तरपछि कुनै पनि बिमा कम्पनीहरूको शाखा विस्तार गर्न पहिलो प्रथामिकता गाउँमा जाने गरी नीति ल्याउने गरी गृहकार्य भइरहेको बताए । उनले भने, “देश संघीयताको मोडलमा प्रवेश गरेसँगै अब गाउँहरूमा पनि धेरै आर्थिक क्रियाकलाप हुँदै आएको छ, त्यस क्षेत्रका जनताको लगानीको जोखिम बहन गर्न पनि हामीले गाउँसम्म बिमा अनिवार्य रूपमा लैजाने तयारी गरेका हौं ।”
अझै पनि नेपालमा बिमाको पहुँच १० प्रतिशत मात्र रहेको उल्लेख गर्दै अध्यक्ष चापागार्इंले नेपालको भौगोलिक वनावट, बिमाको सचेतनाको कमी र गरिबीको कारणले गर्दा बिमाको पहुँचबाट धेरै नेपाली टाडा रहेको दाबी गरे । आफ्नो क्षमताअनुसार बिमा गर्न आग्रह गर्दै अध्यक्ष चापागार्इंले हाल विजन बिमामा करिब २५ प्रतिशत जसो बिमा शुल्क नियमित नर्तेने गरेको (ल्याप्स केस) रहेको दाबी गरे । करिब १ खर्ब ८० अर्ब विजन बिमाको रकम र २२ खर्ब जसो निर्जीबन बिमाको रकम संचित कोषमा रहेकोले उक्त रकमलाई करिब २० प्रतिशत जसो उत्पादनशील क्षेत्रमा लगानी गर्र्ने गरी नीतिसमेत ल्याउने तयारी भएको चापागाईंले बताए ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले जोखिमबाट बच्न गरिने बिमा स्थानीय तहसँगको पहुँच पु¥याउन सचेतना आवश्यक भएको बताए । निप्स पोखराका अध्यक्ष केशवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिमा समितिका निर्देशक राजुरमण पौडेललगायतले बिमाका बारेमा चर्चा गरेका थिए । यसैबीच, बिमा समितिको आयोजनामा शुक्रबार कास्कीकोटको कालिका माविमा बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालिखेले बताइन् । विद्यालयका प्राचार्य ईश्वरीप्रसाद बस्ताकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।