नेपालको प्रमुख युरोपियन श्रम गन्तव्य बन्यो रोमानिया

काठमाडौं– नेपालीहरु रोजगारीका लागि युरोपका विभिन्न देश जाने गरेकोमा पछिल्लो समय रोमानिया पहिलो रोजाइ बनेको छ ।
गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म युरोपियन मुलुक रोमानिया जाने नेपालीको संख्या १३६ प्रतिशतले बढेको छ । गत आवको फागुनसम्म रोमानिया जान सरकारबाट ७ हजार ५४४ युवाले श्रमस्वीकृति लिएकोमा चालु आवको सोही अवधिमा यो संख्या १७ हजार ८३० पुगेको छ । यो संख्या श्रमस्वीकृति लिएर जानेको मात्र हो । अन्य भिसाको माध्यमबाट जाने युवाको संख्या जोड्ने हो भने अझ बढी हुन्छ ।
वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार रोमानिया जानका लागि श्रमस्वीकृति लिनेको संख्या दिनदिनै बढ्दो क्रममा छ । आव २०७८–७९ को तुलनामा अघिल्लो र गत आवमा रोमानिया जाने नेपालीको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको देखिन्छ । आव २०७८–७९ मा रोमानिया जाने नेपालीको संख्या ६ हजार ४०० रहेकोमा अघिल्लो आवमा १३ हजार १३७ र गत आवमा १२ हजार ७०० पुगेको छ ।
विगत ३ वर्षमा मेनपावरमार्फत रोमानिया जान श्रमस्वीकृति लिनेको संख्या १७ हजार ११० रहेकोमा व्यक्तिगत रुपमा जानेको संख्या १५ हजार १३८ रहेको छ । मेनपावरमार्फत जाने नेपाली चर्को सेवा शुल्कको मारमा छन् भने व्यक्तिगत रुपमा जानेहरु विभिन्न ठगी र शोषणमा पर्ने गरेका छन् । सन् २०२४ जनवरीदेखि रोमानियामा करिब १९ हजार नेपालीलाई श्रमिक भिसा उपलब्ध गराइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
संख्यासँगै विकृति पनि बढ्यो
व्यक्तिगत र मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाँदा सेवा शुल्क तथा सुरक्षामा चुनौती देखिएपछि यसलाई व्यवस्थित गर्ने तयारी सरकारले गरेको छ । रोमानिया जाने नेपालीसँग चर्को सेवा शुल्क लिएको तथा अन्य प्रकारका ठगीका घटना भएपछि सरकारले व्यवस्थित गर्न लागेको हो ।
पछिल्लो समय ठगीका घटना वृद्धि भएपछि रोमानिया सरकारको अनुरोधमा यसलाई व्यवस्थित गर्न लागिएको हो । केही समयअघि नेपालका लागि रोमानियाका राजदूत डानियल सेजोनोभ तानले नेपाल र रोमानियाबीच भएको श्रम सम्झौताको कार्यान्वयन तथा विभिन्न एजेन्टहरुबाट भएका ठगी नियन्त्रणका सम्बन्धमा श्रममन्त्री शरतसिंह भण्डारीसँग कुराकानी गरेका थिए । भेटपछि मन्त्री भण्डारीले रोमानियाको रोजगारीलाई व्यवस्थित गरेर औपचारिक माध्यमबाट पठाउने तयारी भएको बताएका थिए ।
नेपाल सरकार र रोमानिया सरकारबीच गत वर्ष असोजमा श्रम सम्झौता कार्यान्वयन भए पनि श्रमिक औपचारिक तवरले रोमानिया जान सकिरहेका छैनन् । एजेन्टहरुले विभिन्न प्रलोभन देखाएर श्रमिकलाई अनौपचारिक तवरले रोमानिया पठाउने गरेको र यसका लागि ठूलो रकम असुल गरिरहेको मन्त्रालयको भनाइ छ । एजेन्टहरुले फर्जी भिसा देखाउने, भिसा आवेदनमा फर्जी डकुमेन्ट पेश गर्ने, इन्सुरेन्स डकुमेन्ट नदिने आदि काम गरिरहेको गुनासो राजदुत सेजोनोभले श्रममन्त्रीसँग गरेका थिए ।
द्विपक्षीय समझदारी व्यवस्थापन गराउने प्रोटोकल डकुमेन्ट निर्माण गर्न बाँकी रहेको र मागपत्र प्रमाणीकरण लगायत भिसा आवदेन प्रक्रियालाई कसरी सरलिकृत गर्न सकिन्छ भन्ने सम्बन्धमा गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । युरोपमा ग्लोबल कम्प्याक्ट अन माइग्रेसनको सिफारिस बमोजिम श्रमिकको मानव अधिकार रहेको अवस्थामा नेपाली श्रमिकलाई औपचारिक तवरले रोमानिया पठाउन, ठगी नियन्त्रण गर्न तथा मागपत्र प्रमाणिकरण सरल बनाउन संयुक्त प्राविधिक समितिले काम गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।
रोमानिया युरोपको १२ औं ठूलो देश हो । साथै यो युरोपेली संघको सातौं सबैभन्दा अधिक जनसंख्या भएको देश हो । सन् २००० को दशकको शुरुवातमा गतिलो आर्थिक विकासपछि रोमानियाको अर्थव्यवस्था मुख्य रूपले सेवाहरुमा आधारित छ । निर्माण सेवा र मेसिनरी, अटोमोबाइल, इनर्जी र ओएमभि कम्पनीहरु रहेका छन् ।