सिस्नो प्रशोधन गरेर उद्यमी बन्दै म्याग्दीका महिला

म्याग्दी– म्याग्दीका महिला जंगलमा खेर गएको सिस्नो प्रशोधन गरेर धुलो बनाउन थालेका छन् । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा दुर्दीकी कालिमायाँ रोकाले पहिलोपटक सिस्नोको पाउडर बनाउने तालिम लिइन् । गाउँघरमा खेर गएको सिस्नोबाट मनग्य आम्दानी गर्न सकिने धेरै जानकारीपछि तालिममा सहभागी महिलामा उत्साह छाएको छ ।
वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो । चार दिनसम्म सञ्चालन भएको तालिममा सिस्नो संकलन, प्रशोधनदेखि बजारसम्म लैजाने सीप सिकेको स्थानीय सुकमाया विकले बताइन् । तालिममा १५ जना महिलाको सहभागिता रहेको थियो । आधारभूत तालिममा सीप सिकेपछि प्रशिक्षार्थीले सिस्नो पाउडरसमेत बनाएको वडाध्यक्ष लालबहादुर रोकाले बताए ।
स्थानीयलाई उत्पादनसँग जोड्न वडा कार्यालयले तालिम सञ्चालन गरेको वडाध्यक्ष रोकाको भनाइ छ । तालिममा सिकेका सीपलाई सदुपयोग गर्न सकेमा जीविकोपार्जनमा टेवा पुग्ने उनको भनाइ थियो । स्थानीयको आवश्यकता र सम्भावनालाई ध्यानमा राखी वार्षिक कार्यक्रम निर्माण गर्ने साथै सहभागीले स्वीकृत भएको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिरहेको बताए ।
तालिममा बारी, वनपाखामा झाडी बनेको सिस्नुलाई प्रशोधन, पाकेजिङ र लेभेलिङ गरेर बजारीकरण गर्नेसम्बन्धी प्रशिक्षण गराइएको थियो । बिन्दु रोका पुन र दुर्गा नेपालीले तालिममा प्रशिक्षण दिएका थिए । खेतबारी र वनजंगलमा खेरजाने सिस्नो टिपेर पाउडर बनाई मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका महिला उद्यमी नै छन् । हरिया सागपातमध्ये सिस्नोमा सबैभन्दा धेरै ‘भिटामिन ए’ नामक तत्व पाइन्छ ।
सिस्नोलाई तरकारी बनाएर खान सकिन्छ भने बिहान बेलुका खानासँगै दालमा मिसाई पकाएरसमेत खान सकिन्छ । यसैगरी उमालेको एक गिलास तातोपानीमा एक चम्चा सिस्नोको धुलो मिसाएर खाएमा स्वास्थ्यलाई निकै फाइदा पुग्ने बताइएको छ । यसले विशेषगरी सुगर, जण्डिस, ग्यास्ट्रिक, कब्जियतजस्ता रोगको निको पार्न महत्त्वपूर्ण भूमिका खेल्ने सिस्नो प्रयोगकर्ता बताउँछन् । म्याग्दीमा उत्पादन हुँदै आएको सिस्नोको पाउडर विदेशसम्म पुग्ने गरेको छ ।