Logo

राप्रपासहित काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन

तस्बिर/सेताेपाटी

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खु क्षेत्रमा प्रदर्शन गरिरहेको छ भने नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । उता, शान्तिबाटिका–बालुवाटार सडकखण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले भने जावलाखेलबाट जुलुश निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ ।

राप्रपाले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउँबाट निकालेको र्‍याली बल्खुमा पुगेर आमसभामा परिणत भएको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले मंगलबार सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । बल्खुमा राप्रपाले प्रदर्शन गर्ने भएपछि व्यापारीहरूले पसलको शटर बन्द गरेका छन् । यसअघि तीनकुनेमा लुटपाट र आगजनी भएपछि त्यसको डरले बल्खुमा व्यापारीहरूले शटर बन्द गरेका हुन् ।

यस्तै, सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले पनि शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले ”समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको बचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो, सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन्” जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् । उनीहरुले सोमवार पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए ।

काठमाडौंको विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्