Logo

रारामा पहिलो पर्यटक प्रहरी

वीरेन्द्रनगर (सुर्खेत)– कर्णाली प्रदेशको रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पहिलो पटक पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको छ । मुगुस्थित रारा तालमा पहिलो पटक पर्यटक प्रहरी स्थापनासँगै यहाँ यात्रा गर्न आउने सबैलाई सुरक्षाको प्रत्यभूति भएको सरोकारवालाको भनाइ छ ।

रारा राष्ट्रिय निकुन्जभित्र रहेको यो ताल नेपालकै ठूलो हो । २०३२ सालमा स्थापना भएको निकुन्ज १०६ वर्ग किलोमिटरमा फैलिएको छ । राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ ।

यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्त्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा चार हजार ०८७ मिटर रहेको छ । उत्तरतर्फ रुम काँध ६ हजार ७३१ मिटर रहेको छ ।

त्यस्तै मालिका काँध ३ हजार ४४४ मिटर जस्ता चुचुराहरू पर्दछन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् । नेपालका अन्य हिमाली राष्ट्रिय निकुञ्ज सरह नै हिमाली कालो भाल, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुंगीको उपयुक्त बासस्थान बन्न पुगेको छ । यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन् । मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ । रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसोवास सुरक्षित बनाउने उद्देश्यले सोमबार रारा ताल क्षेत्रको प्रवेश नाका रारा विमानस्थल नजिक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढिरहेकाले उनीहरुको घुमाइ सुरक्षित र आरामदायी बनाउन पर्यटक प्रहरी राख्न संघीय सरकारसँगको समन्वयमा पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताए ।

रारा विमानस्थल नजिक अहिले अस्थायी विट स्थापना भएपनि निकट भविष्य मै रारा नजिक सल्लेरिमा स्थायी विट स्थापना गरिने छ । सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको छ । वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत हुनासाथ भौतिक संरचना बनाइ स्थायी रुपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ ।

पर्यटक प्रहरीले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरीले गर्नुपर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको पनि घुमाइ अब सुरक्षित हुने आफूले विश्वास लिएको सुरक्षा अधिकारीको भनाइ रहेको छ । हाल देशभर २९ वटा पर्यटक प्रहरी युनिट रहेपनि कर्णाली प्रदेश भरी कतै पनि पर्यटक प्रहरी पोष्ट थिएन ।

अब मुगुमा पर्यटक प्रहरीको ३०औं युनिट स्थापना भएसँगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ । राराताल नीलो कञ्चन, स्निग्ध ताल, जसलाई सल्लाघारीले घेरेर सुरक्षित राखेको छ । तालमा पौडिरहेका हुन्छन् चंखेली र कान्जिरोवा हिमाल साथमा हुन्छन् सल्लाहरू पनि । दिनमै तीन/चार पटक तालले रङ बदल्छ । त्यति मात्र होइन, तालको छालसँगैको सुन्दरताले पर्यटकको मन लोभ्याउँछ ।

तत्कालीन राजा महेन्द्र शाहले भनेझैँ अप्सरा नै हुन रारा ताल । घुमन्तेका लागि सपनाको गन्तव्य पनि हो– रारा ताल । समुन्द्री सतहबाट २ हजार ९९० मिटरमा रहेको तालमा विश्वमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा पाइन्छ । तालको वास्तविक दृश्यचाँही ४ हजार मिटरमाथिको मुर्माटप लेकबाट आनन्द आउँछ । नेपालको सबैभन्दा ठूलो रारा तालमा वर्षमा करिब ६० हजार नेपाली पुगेको तथ्यांक छ । विदेशी पर्यटकको संख्या भने उल्लेख्य देखिएको छैन ।

रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्