आगामी बजेटमा सवारी साधन क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौं– आगामी वर्षको बजेटका लागि सुझाव दिने क्रममा अटोमोबाइल सम्वद्ध व्यवसायीहरुले सवारी साधन क्षेत्रलाई बजेटमा प्राथमिकतामा राख्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ‘नाडा अटो डायलग’ कार्यक्रममा उनीहरूले वर्तमान नीति तथा व्यवस्थाले व्यवसायमा चुनौती थपिएको भन्दै यो क्षेत्रमा सुधारको माग गरेका छन् ।
नाडाका अध्यक्ष करण चौधरीले सवारी साधन जनताको आवश्यकता बनेको भन्दै नागरिकको हिँडडुल सहज नभएसम्म अर्थतन्त्रमा समृद्धि हुन नसक्ने बताए । उनले मोबिलिटीले हरेक क्षेत्रलाई जोड्ने भन्दै यसको महत्व बुझेर त्यसअनुसार बजेटमा प्राथमिकतामा राख्न उनले आग्रह गरे । ‘अटोमोबाइल क्षेत्र केबल गाडी किनबेच गर्ने व्यापार मात्रै होइन, यो क्षेत्र रोजगारी, राजस्व र उद्योग प्रवर्द्धनसँग जोडिएको छ,’ उनले भने ।
अध्यक्ष चौधरीले सरकारले अहिले विद्युतीय सवारी (इभी) किन्न दिने कर्जाको सीमा घटाएकोमा असन्तुष्टि व्यक्त गरे । राष्ट्र बैंकले केही समयअघि विद्युतीय सवारीमा कर्जा दिने सीमा ८० बाट घटाएर ६० प्रतिशतमा झारेको थियो । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका क्रममा मन्त्रालय सुझाव संकलनको क्रममा रहेको बताए । उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर नै बजेट आउने जानकारी दिए । पौडेलले अटोमोबाइल क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताए ।
‘अब यो क्षेत्र केबल आयातमै सीमित छैन, सवारी उत्पादनतर्फ पनि अघि बढिरहेको छ, जुन राम्रो संकेत हो,’ अर्थमन्त्री पौडेलले भने । इभीमा ऋणको सिमाको सवालमा राष्ट्र बैंक एउटा स्वतन्त्र निकाय भएकोले दुई निकायबीच समन्वय आवश्यक रहेको बताए । सरकार निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा लागेको र आवश्यक कानुनी र संरचनात्मक सुधार गर्दै जाने अर्थमन्त्रीको भनाइ थियो । अटोमोबाइल क्षेत्रले दिएको सुझावअनुसार सरकारले आगामी बजेटमा यसलाई प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता व्यक्त गरे ।