बेदकोटमा पुल निर्माण हुँदै

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिकाको अठभैया टोलमा बहुप्रतीक्षित पुलको शिलान्यास गरिएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले एक समारोहका बीच पुलको शिलान्यास गरेका छन् । पुलको निर्माणले लामो समयदेखि स्थानीयले भोग्दै आएको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख बोहराले उक्त पुलले विद्यार्थी, बिरामी, निर्माण सामग्री ढुवानी र सवारीसाधन आवतजावतमा उल्लेखनीय सहजता ल्याउने बताए । ‘हाम्रो नगरको समग्र विकासमा यो एउटा कोशेढुंगा सावित हुनेछ,’ उनले भने, ‘यसले जनताको समय र श्रमको बचत गर्नुका साथै आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने छ, निर्माण कम्पनीलाई पनि तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छौं ।’
त्यसैगरी उक्त क्षेत्रका स्थानीय बासिन्दा खुसिराम डगौराले विगतका दिनमा पुल अभावमा कठिनाइ भोग्नुपरेको गुनासो गरे । ‘यहाँका बुढापाका, विद्यार्थी र बिरामीलाई आवतजावत गर्न दुईदेखि तीन किलोमिटर घुम्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘हाम्रा बालबालिकालाई स्कुल जान र बिरामीलाई अस्पताल पुर्याउनसमेत निकै समस्या थियो । तर, पुल शिलान्यास भएसँगै स्थानीयमा खुसियाली छाएको छ । अब हाम्रा समस्या समाधान हुने आशा पलाएको छ पुल निर्माणकार्य हाम्रा लागि ठूलो राहत हो ।’
नगरपालिका–१० का वडाध्यक्ष रतन सिंह विष्टले यो परियोजनालाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले स्थानीय जनताको सक्रिय सहभागिता र निर्माण कम्पनीको जिम्मेवारीले उक्त परियोजनालाई समयमै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका बेदकोट नगर सभापति तुलाराम साहुले पुल शिलान्यास कार्यलाई स्वागत गर्दै पुलले यहाँका स्थानीयको जीवनस्तरमा सुधार ल्याउने र सबैले उक्त परियोजनाको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्नुपर्ने बताए ।
पुल निर्माणका लागि २१ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । श्री न्यू वासुलिङ कन्स्ट्रक्सन्स निर्माण कम्पनीले आगामी १ महिनाभित्र यो परियोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदार उत्तम चन्दले उक्त अवधिमा पुलको संरचनामात्रै नभएर त्यसको दिगोपन र गुणस्तरमा समेत विशेष ध्यान दिइने बताए । ‘हामीले स्थानीयको आवश्यकता र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै काम गर्ने छौं,’ उनले भने, ‘पुल शिलान्यासले यस क्षेत्रको विकासमा नयाँ ढोका खोलिएको छ भने तोकिएको समयमै जनतालाई सुविधा दिने हाम्रो लक्ष्य छ ।’