भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा व्यवसायी चिन्तित

बुटवल– भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा उद्योगी व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघको ३१ औं परिषद् सभाका अधिकांश व्यवसायीहरुले चिन्ता व्यक्त गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले लामो प्रतीक्षापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा उत्साह थपिए पनि अहिले उडान रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताए ।
उनले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा गिरावट आउने धारणा राखे । सरकारी निकायका यस्ता गतिविधिले उद्योगी व्यवसायीलाई निराश बनाएको बताउँदै शर्माले यसले मुलुकको अर्थतन्त्रमा गम्भीर असर गर्ने दाबी गरे । प्रदेश अध्यक्ष शर्माले उद्योगी व्यवसायीका समस्या सुन्न र पैरवी गर्नका लागि आफूहरू तयार रहेको बताउँदै तल्लो तहबाट समस्याको पहिचान गरी आफूहरूलाई सुझाव दिन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफूहरूले प्रदेशको गौरव ठानेको तर सञ्चालनमा नआउँदा दुखित भएको बताए । उद्योगी व्यवसायीका समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको ब्याजदर घटेको उनले दाबी गरे ।
कशजुले मुलुकलाई ग्रे लिस्टबाट हटाउनको लागि पहल भइरहेको बताउँदै ग्रे लिस्टबाट हटाउन सकिएन भने यसले अर्थतन्त्रमा झनै ठूलो असर पार्ने भनाइ राखे । कतिपय स्थानीय तहले मापदण्ड विपरीत कर असुली गर्न थालेको बताउँदै त्यसका बारेमा आवाज उठाउनु पर्ने उनको भनाइ थियो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीका बारेमा जानकारी गराए । त्यसको समीक्षा गर्न र भावी कार्यक्रम तय गर्नका लागि सुझाव सल्लाह दिन परिषद्का सदस्यहरू वस्तुगत समितिका सभापतिहरूलाई आग्रहसमेत गरे ।
संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्व सचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा. प्रदीप शर्मालगायतले संघले गर्ने कार्यक्रमसँगै परिणामको खोजी गर्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको थियो । क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मान गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी दिए ।