जोखिम नहुने गरी जुगाड खोला करिडोर निर्माण गर्न जोड

जुम्ला– जुम्ला सदरमुकाम खलंगामा निर्माण भइरहेको जुगाड खोला करिडोरमा यहाँका राजनीतिक दलले विशेष चासो राखेका छन् । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको करोडौं लगानी तथा चन्दननाथ नगरपालिकाको सहजीकरणमा निर्माण हुने उक्त करिडोर विपद् प्रतिकार्य र गुणस्तरीय हुनुपर्नेमा दलहरूले चासो राखेका हुन् । पुस २१ गते जिल्ला समन्वय समितिमा बसेको बैठकले निर्माणाधीन जुगाड करिडोर गुणस्तर एवम् विपद् जोखिमलाई मध्यनजर गर्दै निर्माण गर्नुपर्ने सुझाव दिएका हुन् ।
खलंगा बजारको बीच भागबाट बगेर तिला नदीमा मिसिने जुगाड खोलामा बर्खाको सिजनमा ठूलो बाढी पहिरो आउने र आसपासका घरमा बाढी पस्ने समस्या छ । करिडोर निर्माणपछि साँघुरिएर थप जोखिम बढ्नसक्ने भन्दै भविष्यमा आइपर्ने त्यस्ता विपद्लाई ध्यानमा राखी निर्माण गर्नुपर्ने नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले सुझाव दिए । कर्णालीको अञ्चल सदरमुकाम जुम्लामा रहेको जुगाड खोलालाई संरक्षण प्रवर्द्धन गर्न करिडोर निर्माण गर्नु सुखद पक्ष हो ।
उनले भने, ‘तर त्यहाँ बन्ने हरेक संरचना विपद् प्रतिकार्य हुनुपर्यो । वर्षा हुँदा पुल छुने गरी बाढी आउँछ । करिडोर बनिसकेपछि पनि त्यस्तै जोखिम निम्तिएमा अहिलेको करोडौं लगानी उपलब्धिविहीन हुनसक्छ । त्यसैले दीर्घकालीन असरलाई ध्यानमा राखेर निर्माण गर्न जरुरी छ ।’ त्यस्तै नेपाली काग्रेसका पार्टी सचिव अर्जुनसिंह कठायत र नेकपा माओवादी केन्द्रका नेता ललितजंग महतले पनि निर्माणाधीन जुगाड खोला करिडोर विपद् प्रतिरोधात्मक हुनुपर्ने उल्लेख गरे ।
खोला आसपास बस्ती रहेको र करिडोर निर्माणपछि त्यसभित्र थुप्रै संरचना पनि बन्ने हुँदा अहिले नै सावधानी अपनाउनु पर्ने माओवादी नेता ललितजंग महतले बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले करिडोर निर्माणमा दलहरूले राखेको चासो स्वाभाविक रहेको र उठेका सुझाव सम्भावित जोखिमलाई मध्यनजर गरी करिडोर निर्माण गर्नुपर्ने उल्लेख गरे ।
चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले खंलगालाई पर्यटकीय सहरका रूपमा विकास गर्न जुगाड खोला करिडोर निर्माण गर्न लागिएको बताइन् । विगतमा दुर्गन्धित खोलाका रूपमा हेरिएको जुगाड खोलालाई मान्छेको भीड लाग्ने गरी पार्कसहितको करिडोर निर्माण गरिने उनको भनाइ छ ।
यता सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी चन्द्र खड्का जुगाड खोला करिडोर जोखिममुक्त नै बन्ने बताउँछन् । उत्तरमा केटिएसदेखि दक्षिणमा तिला नदीसम्म जुगाड खोलाको दुवै साइटमा करिडोर निर्माण गरिने छ । करिडोर निर्माणका लागि चालु आवमा नौ करोड ८० लाख बराबरको ठेक्का आह्वान भई काम भइरहेको छ । करिडोर दुईवटा ठेक्कामार्फत निर्माण भइरहेको छ ।
उनले भने, ‘पहिलो ६ करोड लागतमा दुई वर्षमा कामसक्ने गरी (आरएम/बर्दिया जियाना/आरएनबी जेभीले ठेक्का पाएको छ । भने तीन करोड ८० लाख लागतमा काम गर्ने गरी पुष्पा/ज्याङ्गग जेभी ठेक्का लिएर निर्माण भइरहेको छ । करिडोर निर्माणमा तीन करोड ८० लाख चालु आवको असार मसान्तसम्मै खर्च गरिसक्नु पर्नेछ भने ६ करोड बजेट दुई वर्षमा खर्च गर्नुपर्नेछ ।’
करिडोर कस्तो बन्छ ? भन्ने कौतुहलता धेरैमा देखिएकाले केही भागको काम पूर्णरूपमा सक्ने गरी अघि बढाइएको छ । खोलाको केही जग्गा स्थानीयले अतिक्रमण गरी संरचना बनाएका छन् । अहिले उक्त जग्गा फिर्ता गर्न आनाकानी समेत गरिरहेको अवस्था छ । त्यसैले करिडोरको केही भाग नागरिक सन्तुष्ट हुने गरी निर्माण गरेर बाँकी जग्गा आफै दिने वातावरण सिर्जना गरिने सूचना अधिकारी खड्काको भनाइ छ ।
करिडोर अन्तर्गत खुला पार्क, सार्वजनिक शौचालय, फूल गार्डेनलगायतका संरचना निर्माण हुनेछन् । दुवै निर्माण कम्पनीले करिडोर निर्माणमा गति दिएका छन् । दुई साइटमा पक्की पर्खाल निर्माण गर्ने र खोला आसपासमा बनेका अवैध संरचना हटाउने काम भइरहेको छ ।