Logo

चालु आवमा चारवटा मोटरेबल पुल निर्माण हुँदै

लमजुङ– लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मस्र्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ मोटरेबल पुल निर्माण सुरु हुने भएको हो । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत जिल्लाका अतिआवश्यक चार स्थानमा मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षमा निर्माण सुरु हुने चारवटा मोटरेबल पुलमध्ये तीनवटा टेण्डर प्रक्रियामा गइसकेका छन् भने एउटा अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । टेण्डर प्रक्रियामा गएकामध्ये मस्र्याङ्दी गाउँपालिका स्याँगेमा वडा नम्बर ४ र ५ जोड्ने मस्र्याङदी नदिमा मोटरेबल पुल निर्माण हुन लागेको हो ।

बहुवर्षीया योजनामा रहेको सो मोटरेबल पुलका लागि चालु आर्थिक वर्षमा मात्रै तीन करोड रुपैयाँ विनियोजन भएको छ । टेण्डर प्रक्रिया सकिएसँगै आगामी तीन वर्षमो पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । त्यसैगरी क्होलासोँथार गाउँपालिका–७ अन्तर्गत बालुवाबेसीमा रुदी खोला मोटरेबल पुलको योजना पनि टेण्डर प्रक्रियामा गइसकेको छ ।

चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन भएको सो मोटरेबल पुल दुई वर्षमा सक्ने लक्ष्य छ । त्यस्तै दोर्दी गाउँपालिका–५ र दूधपोखरी गाउँपालिका–६ जोड्ने किसेदी खोलामा पनि मोटेरबल पुलका लागि टेण्डर भइसकेको छ । चालु आर्थिक वर्षमा एक करोड १२ लाख रुपैयाँ विनियोजन भएको सो पुल दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुरु हुने मोटरेबल पुल योजनामध्ये मध्यनेपाल नगरपालिका वडा नम्बर १ र २ जोड्ने खहरेखोला मोटरेबल पुल रहेको छ । चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको सो मोटरेबल पुल टेण्डर प्रक्रियाका लागि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । टेण्डर प्रक्रिया समाप्तिपछि सो पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्यालयको दाबी छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा एउटामात्रै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । दूधपोखरी गाउँपालिका अन्तर्गत कुनाघाटमा चेपेखोलामा निर्माण सुरु भएको पुल गत साउनमा महिनामा नै सम्पन्न भएको हो । २०७८ साल असारमा निर्माण सुरु भएको सो मोटरेबल पुल दूधपोखरी हुँदै गोरखा भच्चेक सडकअन्तर्गत रहेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले स्थानीय नागरिकको आवश्यकता र विकास निर्माणको प्राथमिकतालाई ख्याल गर्दै आफू मन्त्री भएको पहिलो आर्थिक वर्षमै जिल्लाका चार स्थानमा मोटरेबल पुल योजना राख्न सकेको बताए । जिल्लामा अझै पनि स्तरीय सडक र मोटरेबल पुल नहुँदा अधिकांश भागमा सहज यातायात नभएको भन्दै आगामी आर्थिक वर्षमा पनि नागरिकको आवश्यकता अनुसार योजना छनोट र बजेट विनियोजनमा विशेष ध्यान दिने मन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्