Logo

५० प्रतिशत बन्याे राप्ती तटबन्ध

दाङ– राप्ती नदी तटबन्धका लागि ढुंगाका कारण काममा समस्या भएको छ । वर्षाको समयमा राप्ती नदीले बस्तीमा गर्ने डुबान र कटानबाट सुरक्षित गर्नेगरी भइरहेको तटबन्धमा ढुंगा अभाव हुँदा काममा ढिलाइ भएको हो । तटबन्धका लागि सहज रूपमा ढुंगा उपलब्ध नहुँदा काम सुरु भएको करिब २६ महिना बितिसक्दा ५० प्रतिशतमात्र काम भएको छ ।

राप्ती नदीअन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिकाको चार स्थानमा करिब साढे आठ किलोमिटर तटबन्धको काम ३० महिनाको अवधिमा सक्नेगरी कालिका कन्स्ट्रक्सन प्रालिसँग २०७९ पुसमा ठेक्का सम्झौता भएको थियो । २०८२ असार मसान्तसम्म तटबन्धको काम सक्नेगरी गढवा गाउँपालिका–१ को जेठान गाउँ, गढवा गाउँपालिका–४ दंगाली छाप कुलो, लमही नगरपालिका–४ को बटकुवा र ७ को कान्छीगाउँमा तटबन्धको काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर वासुदेव गौतमले जानकारी दिए ।

इन्जिनियर गौतमका अनुसार हालसम्म गढवा गाउँपालिका–१ जेठान गाउँमा एक हजार ७५० मिटरमध्ये एक हजार ५० मिटर, गढवाकै दंगाली छाप कुलो भन्ने स्थानमा दुई हजार मिटरमध्ये एक हजार चार सय मिटर, लमही नगरपालिका–४ को बटकुवामा एक हजार ५० मिटरमध्ये दुई सय र लमहीकै ७ को कान्छीगाउँमा ७४१ मिटर मध्ये सम्पूर्ण काम सकेर फिनिसिङ गर्ने कार्य भइरहेको छ । सम्झौताअनुसार अहिलेसम्म करिव ८० प्रतिशत बढी तटबन्धको काम सम्पन्न हुनुपर्ने भए पनि तटबन्धका लागि ढुंगा नपाउँदा प्रगति ५० प्रतिशतमात्र देखिएको आयोजनाले जनाएको छ ।

तटबन्धका लागि आवश्यक ढुंगा व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको जनताको तटबन्ध आयोजना लमहीका प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताए । वर्षाको समयमा बस्तीलाई जोगाउनका लागि तटबन्ध आवश्यक रहेको र त्यसका लागि कार्यक्रम सञ्चालन भइरहेकाले समयमै सम्पन्न गर्नेगरी काम भइरहेको आयोजना प्रमुख डा. सुवेदीले बताए । उनले भने, ‘तटबन्धका लागि ढुंगा व्यवस्थापनको समस्या देखिएको छ । ढुंगा व्यवस्थापनलाई सहज बनाउनका लागि सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालय, वन डिभिजन कार्यालय लगायतसँग छलफलको भइरहेको छ ।’

विपत्को समयमा कटान र डुबानबाट बस्ती र जमिनलाई बचाउनका लागि तटबन्धलाई प्राथमिकतामा राख्दै आवश्यक ढुंगाको व्यवस्थापनमा सवैको सहयोग आवश्यक रहेको प्रमुख सुवेदीले बताएका छन् । तटबन्धका लागि आवश्यक पर्ने ढुंगा सहज रूपमा उपलब्ध हुने र जग्गाको विवाद नहुने हो भने अझै पनि सम्झौता मितिमा कामसक्ने अवस्था रहेको निर्माण कम्पनीका इन्जिनियर अनिल पौडेल बताउँछन् । तटबन्धका लागि आवश्यक पर्ने ढुंगाको व्यवस्थापन रनसिंह खोला भनिए पनि उपभोग गर्न समस्या भइरहेको उनले बताए ।

रनसिंह खोलाबाट सहज रूपमा ढुंगा उपभोग गर्नसक्ने अवस्था नहुँदा क्रसर उद्योगसँग समेत ढुंगा ल्याएर तटबन्धको काम गरिरहेको इन्जिनियर पौडेलले बताउँछन् । उनले भने, ‘सहज रूपमा ढुंगाको व्यवस्था हुनसके काममा ढिलाइ हुँदैन । सम्झौता मितिमै तोकिएको काम सम्पन्न गर्न सक्ने अवस्था छ तर काम गर्दा मुख्य समस्या ढुंगाकै छ ।’ तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता हुँदा निर्माण क्षेत्र वरिपरि उपलब्ध ढुंगा प्रयोग गर्ने भए पनि वन क्षेत्र र नदी भएकाले ढुंगा प्रयोग गर्न समस्या भइरहेको पौडेल बताउँछन् ।

समयमै तटबन्धको काम हुन सके वर्षाको समयमा राप्ती नदीबाट हुने डुबान र कटानबाट मानव बस्तीसँगै हजारौ बिगा खेतीयोग्य जमिनलाई सुरक्षित गर्न सकिने गढवा गाउँपालिका–४ निवासी ठाकुर चौधरी बताउँछन् । तटबन्ध भएपछि बोधीपुर, तकियापुर, झारवैरा, कान्छीगाउँ, बलरामपुर, समरहवा, लखनहवा, मोतीपुर लगायतका बस्ती सुरक्षित हुनेछन् । हरेक वर्ष राप्ती नदीमा आउने बाढीका कारण क्षति हुने गरेको भन्दै चौधरीले बाढीका कारण हुने क्षतिलाई रोक्नका लागि तटबन्ध अनिवार्य भएको बताए ।

एसियाली विकास बैंकको सहयोगमा जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करिब एक अर्ब १७ करोड रुपैयाँमा दाङ र बाँकेको करिब ११ किलो मिटर राप्ती नदी तटबन्धको काम भइरहेको आयोजनाले जनाएको छ । जसअन्तर्गत दाङमा साढे आठ किलोमिटर र बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत साढे दुई किलोमिटर तटबन्धनको काम भइरहेको छ । दाङमा तटबन्धका लागि ढुंगाको समस्या देखिए पनि बाँकेमा समस्या नभएको जनताको तटबन्ध आयोजना लमहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्