ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी
प्रधानमन्त्री ओली ढुंगानाका पक्षमा, कांग्रेसको छैन समर्थन

काठमाडौं– राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानालाई दिइएको छ ।
अर्थ मन्त्रालयले सोमबारदेखि लागु हुने गरी ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नरको पाँच वर्षे कार्यकाल सकाएर महाप्रसाद अधिकारीले शनिबारदेखि अवकास लिएका छन् ।
गभर्नर नहुँदा वरिष्ठ डेपुटी गभर्नरलाई नै कामु दिने प्रचलन छ । त्यहीअनुसार ढुंगानाले कामुको जिम्मेवारी पाएकी हुन् । ढुंगानालाई गभर्नर बनाउन प्रधानमन्त्री केपी ओली सकारात्मक रहेको र सत्ता सहकार्य गरिरहेको अर्को दल नेपाली कांग्रेसलाई पनि मनाउन सकिने विश्वास उनको रहेको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीका पछिल्लो केही समयदेखिका सार्वजनिक अभिव्यक्ति हेर्दा पनि उनले ढुंगानालाई गभर्नर बनाउन चाहेको देखिन्छ ।
‘हामीले राष्ट्रपति महिला बनायौं । नयाँ संविधान बनेपछि संविधानबाट निर्वाचित भएको पहिलो राष्ट्रपति महिला बनाएका हौं । प्रथम प्रधानन्यायाधीश महिला हामीले बनायौं । कतिपय देशमा अहिले पनि यो ठाउँमा महिला पुग्न सकेका छैनन् । हामीले ‘स्पिकर’ (सभामुख) महिला बनायौं । हामीले महिला डिफेन्स मिनिस्टर (रक्षामन्त्री) बनायौं । ‘इट्स नट अ जोक’ यो धेरै महत्वपूर्ण कुरा हो,’ केही दिनअघि आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीले भर्खरै सुरु भएको संघीय प्रणालीमा मुख्यमन्त्री महिला बनाइसक्यौं । ब्युरोक्रेसीको टपमा पनि मुख्य सचिव महिला बनायौं । संयोगवश भनौं वा प्रयासस्वरुप यी सबै बनाउँदा मै पर्दो रहेछु, प्रधानमन्त्री फेरि ।’
ओलीले महिलालाई नेतृत्वमा पुर्याएर इतिहास रच्दै आएको बताउँदै आउँदा गभर्नरमा ढुंगानालाई अगाडि सारेको धेरैको विश्लेषण छ । ओली यही कार्यकालमा महिलालाई गभर्नर बनाएर इतिहास रच्ने पक्षमा छन् । ढुंगानालाई गभर्नर बनाउनका लागि ओलीलाई दुई बलियो आधार छन् । पहिलो उनी गभर्नर बन्दा पहिलो महिला गभर्नर बन्नेछिन् । महिलालाई गभर्नर बनाएको जस ओलीले इतिहाससम्म लिन पाउनेछन् र त्यसको लाभ पनि एमालेले निरन्तर पाइरहनेछ । अर्को आधार भनेको ढुंगाना ओली पत्नी राधिका शाक्यसँग पनि नजिक छिन् । ढुंगानाका पति विष्णु तिमल्सिना एमालेमै छन् ।
गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा ओलीकै चाहनामा ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिइएको समेत स्रोत बताउँछ । ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएसँगै अब गभर्नर नियुक्ति केही लम्बिने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ढुंगानालाई गभर्नर बनाउनेबारे कांग्रेस पक्षबाट सहमति खोजिरहेका छन् ।
सरकारले बनाएको सिफारिस समितिले पनि अझै गभर्नरका लागी योग्य तीन जनाको नाम औपचारिक रुपमा सिफारिस गर्न सकेको छैन । सरकारले गत चैत ११ मा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सम्मिलित गभर्नर सिफारिस समिति बनाएको थियो ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था छ । तर, स्वार्थ समूह र सत्ता गठबन्धनबीच भइरहेको रस्साकस्सीले गभर्नरका लागि समितिले तीन जनाको नाम सिफारिस गर्न सकेको छैन ।
अर्थ मन्त्रालयले केही दिनअघि गभर्नर नियुक्तिकै पूर्वसन्ध्यामा मापदण्ड संशोधन गर्दै उमेर हद हटाएको छ । सरकारले ६५ वर्षमाथि उमेर पुगेका व्यक्तिलाई गभर्नर बनाउन मिल्ने गरी मापदण्ड संशोधन गराएको हो ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशोधन)मा समेटिएको थियो । तर, अर्थ मन्त्रालयले केही दिनअघि यो मापदण्ड संशोधन गरेर सो व्यवस्था नै हटाएको हो ।
गभर्नर नियुक्तिका लागि दुई दर्जनभन्दा बढी आकांक्षी रहेकामा अहिले ढुंगानासहित डेपुटी गभर्नर बमबहादुर मिश्र, राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे, कार्यकारी निर्देशक गुणाकर भट्ट, कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका प्रकाशकुमार श्रेष्ठ, पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्व अर्थसचिव रामेश्वर खनाल लगायतको नाम बढी चर्चामा छ ।
सिफारिस समितिले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरमध्येबाट तीनजनाको नामावली सिफारिस गर्नुपर्ने व्यवस्था छ । यसअनुसार नीलमको नाम गभर्नर पदका लागि जाने निश्चितप्रायः देखिएको विश्वस्त स्रोत बताउँछ । यसबाहेक अन्य दुई जनामा कसको नाम राख्ने भन्नेबारे अहिले रस्साकस्सी चलिरहेको छ । सोही कारण सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्न ढिलाइ भएको हो ।
अहिले नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा छन् । सत्तारुढ दुई दलबीच भएको भागवण्डाअनुसार केही समयपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । देउवाले अहिलेदेखि नै आफूलाई सहज हुने किसिमले अर्थमन्त्री र गभर्नर राख्ने प्रयासमा छन् ।