सानिमा बैंकद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख सहयोग

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो । उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई २१ लाखको सहयोग गरेको छ ।
एक कार्यक्रमकाबीच बैंकका सञ्चालक तुकप्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यलाई सरहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुसी लागोको पनि उनले बताए । कार्यक्रममा बोल्दै सीताराम कट्टेलले उक्त बस्ती अनुमानित समयभन्दा चाँडै र अनुमानित लागतभन्दा कममै सकिएको बताउँदै बैंकिङ क्षेत्रबाट अहिलेसम्मको सबैभन्दा ठूलो धन राशी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिँदै उनले यो रकमसँगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए । त्यसैगरी श्रीमती कुञ्जना घिमिरेले फाउन्डेसनलाई विश्वास गरेकोमा धन्यवाद दिँदै यो सहयोग बैंकले गरेको सम्मानका रूपमा लिएको बताइन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमाभित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नुपर्ने बताए ।