Logo

प्याज खेतीप्रति कृषकको आकर्षण बढ्दै

दाङ– दाङमा प्याज खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम लगानी र मेहनतमा राम्रो उत्पादन लिन सकिने र बिक्रीमा समेत समस्या नहुने भएपछि प्याज खेतीमा किसानको आकर्षण बढ्दै गएको हो । केही वर्ष अघिसम्म घरका लागि आवश्यक मात्र प्याज रोप्ने किसानले पछिल्लो समय व्यावसायिक रूपमा खेतीमा लागेका छन् । तिनैमध्येका एक हुन् घोराही उपमहानगरपालिका–८ स्यानीगाउँ निवासी दिपक चौधरी ।

कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीको समस्या नहुने भएपछि प्याज खेती गर्न थालेको उनी बताउँछन् । विगत तीन वर्षदेखि व्यावसायिक उत्पादनमा जोडिएको भन्दै किसान चौधरीले प्याज बिक्री गरेर सिजनमा ५०/६० हजारसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । करिब चार कट्ठा जमिनमा प्याजखेती गरेका चौधरीले गाउँमा सिँचाइको समेत सुविधा भएकाले खेती गर्न सजिलो हुने गरेको बताए ।

घोराही उपमहानगरपालिका–५ नैनवार निवासी सरिता चौधरीले पनि प्याजखेती गर्दै आएकी छन् । सिँचाइको सुविधा भएको ठाउँमा प्याजखेती गर्दा राम्रो उत्पादन हुने र बिक्रीका लागि समेत समस्या नहुने गरेकाले प्याजखेती गर्दा फाइदा हुने गरेको उनको भनाइ छ । ‘जिल्लामा थोरै मात्रमा प्याजखेती हुन्छ, जसले गर्दा उत्पादन भएको प्याज बिक्रीमा समस्या हुँदैन,’ उनले भनिन्, ‘त्यही भएर गाउँमा धेरै किसानले पछिल्लो समय प्याजखेती गर्न थालेका छन् ।’

उनका अनुसार पहिले घरका लागि मात्र आवश्यक प्याजखेती गर्ने किसान पछिल्लो समय गाउँमा धेरै प्याजखेती गर्न थालेका छन् । प्याजका लागि माटो र हावापानी उपयुक्त भएकाले पनि खेती गर्न समस्या नभएको उनले बताइन् । उनका अनुसार सिजनमा ३०/४० हजारसम्मको बिक्री गर्ने गरेको भन्दै हरियोदेखि तयार भएको प्याजसम्म बिक्री गर्ने गरेको उनले बताइन् । अन्य तरकारीभन्दा प्याजखेती गर्न सहज भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘प्याज खेतीमा अन्य तरकारी खेती जस्तोे जोखिम हुँदैन । सिँचाइ र गोडमेल गर्नुपर्छ, कुनै रोगको समस्या हुँदैन ।’ उनका अनुसार गाउँमा व्यक्तिगत तथा सामूहिक रूपमा किसानले समूहमार्फत पनि प्याजखेती गर्ने गरेका छन् । प्रतिनिधिमूलक किसान भएपछि जिल्लामा पछिल्लो समय घोराहीको स्यानीगाउँ, तुलसीपुरको कचिला, उरहरीलगायत दंगीशरण गाउँपालिका र देउखुरीका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा किसानले प्याजखेती गर्ने गरेका छन् ।

जिल्लामा धेरै खेती नहुँदा बिक्री गर्न समस्या नहुने र आम्दानी पनि राम्रै हुने भएपछि किसान पछिल्लो समय प्याज खेतीमा जोडिँदै गएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने बताउँछन् । सूचना अधिकारी लामिछानेका अनुसार जिल्लामा यो वर्ष करिब ८८ हेक्टर क्षेत्रफलमा प्याजखेती भएको छ । गत वर्ष ८५ हेक्टर क्षेत्रफलमा भए पनि यो केही क्षेत्रफल बढेर ८८ हेक्टर क्षेत्रफलमा प्याजखेती विस्तार भएको छ । सूचना अधिकारी लामिछानेका अनुसार जिल्लामा ८७५ दशमलव ५ मेट्रिक टन वार्षिक प्याज उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्